

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरका सभापति पदम विष्टपछि सह सचिव यज्ञ जोशीले पनि अन्य पार्टी छाडेर रास्वपा पुगेका नेता लक्षित गरी असन्तुष्टि पोखेका छन् ।
जिल्ला सभापति विष्टले असन्तसुष्टि पोेखेको एक सातापछि जोशीले पनि त्यस्तै किसिमको असन्तुष्टि पोखेका छन् ।
जिल्ला सभापति विष्टले कार्तिक ८ गते सामाजिक सञ्जालमा अन्य दल छाडेर पार्टी प्रवेश गर्दैमा रास्वपा नहुने चेतावनी दिएका थिए ।
सह सचिव जोशीले शनिबार सामाजिक सञ्जालमा पार्टी स्थापनादेखि सक्रिय नेता कार्यकर्ताको योगदान मूल्याङ्कन हुन कसरी हुने भन्दै प्रश्न उठाएका छन् ।
विभिन्न राजनीतिक दलबाट आएर उम्मेदवार हुन चर्चा चलेको भन्दै जोशीले गम्भीर बहसको विषय भएको बताएका छन् ।
‘विगतमा विभिन्न राजनीतिक दलमा रहेर पटक–पटक राजनीतिक अवसर र लाभ लिएका, निर्वाचनमा पराजय भोगेका व्यक्तिहरू आज रास्वपाबाट उम्मेदवार बन्ने चर्चामा फेरि अग्रस्थानमा देखिनु गम्भीर बहसको विषय हो’ उनले भनेका छन् ।


रास्वपाको स्थानीय तह निर्वाचनका लागि क्यान्डिडेट क्लबमा उम्मेदवारका लागि निवेदन दर्ता सुरु गरेपछि जिल्ला पदाधिकारी एकपछि अर्को असन्तुष्टि पोख्न थालेका छन् ।
रास्वपा सह सचिव जोशीले पूराना दल छाडेर रास्वपामा आउने अधिकार सबैसित भएको तर पार्टीले अवसरमा कसलाई प्राथमिकता दिने भन्ने महत्वपूर्ण हुने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘प्रश्न कसैले पुरानो पार्टी छोडेर रास्वपामा आउन पाउँछ कि पाउँदैन भन्ने होइन । सबैलाई विचार परिवर्तन गर्ने र नयाँ राजनीतिक यात्रामा जोडिने अधिकार छ। तर प्रश्न के हो भने, हिजो अवसर पाउँदा पार्टी र शक्ति प्रयोग गरिसकेकाहरूलाई नै फेरि प्राथमिकता दिने हो भने वर्षौँदेखि संगठन निर्माणमा पसिना बगाएका इमानदार कार्यकर्ताको योगदानको मूल्याङ्कन कसरी हुन्छ ?’ उनले भनेका छन् ।
यस अघि सभापति विष्टले अन्य दल छाडेर रास्वपा आएका नेता कार्यकर्तामाथि निर्मम प्रहार गरेका थिए ।
विष्टले पनि शनिबार सामाजिक सञ्जालमा लेखेका थिए । उनले बिहान पार्टी प्रवेश गरेरे मात्रै रास्वपा हुन नसक्ने भन्दै छाडका दलको चरित्र, स्वार्थ र प्रवृति सबै छाडेको हुनु पर्ने शर्त राखेका थिए ।
‘कुनै अमुक दलमात्र त्याग्नुभयो तर त्यसको चरित्र, स्वार्थ र प्रवृत्तिसँगै बोकेर आउनु भएको छ भने तपाईं रास्वपा होइन, अवसरवादी मात्रै हो’ सामाजिक सञ्जालमा बिष्टले भनेका थिए ।
