

महेन्द्रनगर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरले २५ औं वार्षिक साधारण सभा गरेको छ ।
सहकारीका संस्थापक अध्यक्ष हिक्मत बहादुर चन्दको प्रमुख आतिथ्यमा शनिबार साधारण सभा गरिएको छ । सहकारीका अध्यक्ष गंगादत्त जोशीले कार्यक्रमको अध्यक्षता गरे ।
साधारण सभाबाट आगामी वर्षको बजेट कार्यक्रम सहित विभिन्न निर्णय पारित गरिएका छन् । कार्यक्रममा सहकारीका उत्कृष्ठ कर्मचारी बसन्ती बम सहित उत्कृष्ठ बचतकर्ता र असल ऋणी सम्मान गरिएका छन् ।
उत्कृष्ठ बचतकर्तामा दयाकृष्ण जोशी र सुनिता कुमारी थापा रावल सम्मान गरिएको छ । सहकारीले हेम राज भट्ट र सरस्वती देबी चन्दलाई असल ऋणीका रुपमा सम्मान गरेको छ ।
सहकारीका शेयर सदस्य देबकी नाथकी छोरी निहारिका नाथ उत्कृष्ट बाल बचत कर्तामा सम्मानित भएकी छन् । सहकारीका सहायक व्यवस्थापक बसन्ती बमलाई कर्मचारी सम्मान गरिएको छ ।
उनीहरु सबैलाई दोसल्ला ओढाएर नगद राशी सहित सम्मान गरिएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष जोशीले वार्षिक प्रतिवेदन सहित २०८३/०८४ को प्रस्तावित नीति कार्यक्रम प्रस्तुत गरे ।
सहकारीका कोषाध्यक्ष लाल बहादुर विष्टले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक विजयराज जोशीले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका सचिव दिनेशराज भट्टले साधारण सभाबाट आगामी कार्यक्रम, बजेट, विनियम संशोधन मस्यौदा, ऋण व्यवस्थापन कार्यविधि र साधारण सभा सञचालन तथा व्यवस्थापन कार्यविधि पारित गरिएको जानकारी दिए ।

सहकारीमा ८ सय १६ शेयर सदस्य छन् । सहकारीको कुल पूँजी तथा सम्पत्ति ४ करोड ३० लाखको छ । एक करोड चार लाख शेयर पूँजी पुगेको सहकारीमा ४ लाख ५२ हजार खुद नाफा आम्दानी गरेको छ ।
आर्थिक वर्ष २०८२÷०८३ सम्म २ करोड ९५ लाख निक्षेप र ३ करोड ५६ लाख कर्जा प्रवाह भएको छ ।
साधारण सभाका प्रमुख अतिथि संस्थापक अध्यक्ष चन्दले सहकारी संस्था स्थापनाको इतिहासबारे जानकारी दिए ।
नेपाल निजामति कर्मचारी संगठनको विराटनगरमा भएको पाँचौ राष्ट्रिय सम्मेलनबाट सहकारी संस्था खोल्ने निर्णय गरिएपछि कञ्चनपुरमा हुलाक कार्यालयको कोठामा उधारोमा किनिएको दराज राखेर सहकारी सञ्चालन गरिएको चन्द बताउँछन् ।
सहकारी संस्था स्थापना गर्दा एक सय रुपैँयाको शेयर हाल्ने कर्मचारी पाउन मुस्किल भएको अनुभव चन्दले सुनाए ।
‘आज सहकारी अग्र गतिमा पुगेको रहेछ, ८ सय १६ जना शेयर सदस्य पुग्नु भएको छ, तीन करोड ५६ लाख त ऋण प्रवाह भएको रहेछ, यसबाट यो प्रष्ट हुन्छ कि यो सहकारी संस्था यति अगाडि बढेको, प्रगति गरेको, जुन अध्यक्षज्यूको प्रतिवेदनबाट पनि स्पष्ट हुन्छ’ उनले भने ।
कार्यक्रममा सहकारीका सल्लाहकार प्रताप चन्दले सहकारीका सबै शेयर सदस्यले सहकारीको प्रगतिका लागि ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशी, सहकारीका निवर्तमान अध्यक्ष पूर्ण बहादुर कुँबर लगायतले शुभ कामना मन्तव्य राखे ।
कार्यक्रममा सहकारीका सल्लाहकार र, सल्लाहकार देबदत्त जोशी, कृष्णदत्त भट्ट लगायत शेयर धनी सहभागी भएका छन् ।
सहकारीका सचिव दिनेशराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।
