

महेन्द्र्रनगर । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन तथा घुम्न गएका एक आन्तरिक पर्यटक मृत अवस्थामा फेला परेका छन् ।
बडीमालिकाको दर्शनसँगै घुम्न गएर सम्पर्कविहीन भएका बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत फेला परेको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले कान्तिपुरलाई जानकारी दिए ।
आइतबार बिहान सम्पर्कविहीन युवकको खोजीका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । लगातार मौसम खराबीका कारण चिसो र हिमपात भएपछि चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।

मार्तडीमा रहेको ईश्वरीबक्स गुल्म बाजुराको उद्धार टोलीले खोजी गर्दा सम्पर्कविहीन युवक बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेको उनले बताए । मृतक युवकको शव र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टर मार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
त्यस्तै हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो ।
कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए ।
साभार : इकान्तिपुर
