काँग्रेसका पूर्व मन्त्री लेखकलाई १८ वर्षपछि सत्ताबाट बाहिर राख्ने एमालेका निवर्तमान साँसद डा. भट्टले पनि पाएनन् टिकट, कञ्चनपुर इन्चार्ज पाल चुनाव लड्ने
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाल चुनाव लड्ने भएकी छन् । निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टलाई टिकट नदिएर एमालेले पाललाई चुनावमा उम्मेदवार बनाउन लागेको हो ।
एमाले नेताहरुले क्षेत्र नं. ३ मा पाल उम्मेदवार हुने यस अघि नै ठोकुवा गरि सकेका थिए । निवर्तमान साँसद भट्टको जनमतको आधारमा अध्यक्ष केपी शर्मा ओलीले भट्टलाई टिकट दिन सक्ने झिनो अपेक्षा गरिएको थियो ।
अघिल्लो निर्वाचनमा काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखकलाई पराजित गरी निवर्तमान साँसद भट्टले एमालेलाई जिताएका थिए । एमाले यस क्षेत्रमा २०५१ मा पछि पहिलो पटक भट्टले जिताएका थिए ।
निवर्तमान साँसद भट्टले २०५६ देखि २०७४ सम्म लगातार १८ वर्ष सत्तामा रहेका लेखकलाई बाहिरिन बाध्य गरेका थिए । उनी यस पटक पनि चुनाव लड्न एमाले जिल्ला कमिटीबाट सिफारिश गरिएका थिए ।
एमाले जिल्ला कमिटीले साँसद भट्ट र पाल दुबैको नाम सिफारिश गरेको थियो । पाल २०७४ की समानुपातिक साँसद हुन् । उनी २०६५ मा संविधान सभा सदस्य उप निर्वाचन लडेकी थिइन् ।
एमालेका निवर्तमान साँसद एमाले अध्यक्ष ओलीको संसद विघटन कदमका विरोधी हुन् । उनी एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी नगएर १० बुँदे सहमतिपछि एमालेमा बसेका हुन् । उनी एमालेमा तत्कालिन माधव नेपाल समूहका नेता हुन् ।
प्रतिनिधि सभा सदस्य चुनाव लड्न लागेकी पाल भने अध्यक्ष ओलीकी विश्वासपात्र हुन् । उनी एमालेमा धेरै वर्षदेखि अध्यक्ष ओलीको साथमा छिन् । ओलीसम्म बलियो पहुँच भएका नेतामा पाल पनि पर्छिन् । उनले राष्ट्रिय युवा संघको अध्यक्ष भएर जिम्मेवारी बहन गरि सकेकी छन् ।
एमालेले कञ्चनपुर ३ का एक प्रदेश सभामा चुनाव लड्ने भएको छ । प्रदेश सभा ख बाट एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट चुनाव लड्ने लागेका छन् । प्रदेश सभा क मा भने एमालेले राप्रपासित चुनावी तालमेल अनुसार धर्मराज जेशीलाई सघाउने भएको छ । कञ्चनपुर ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल गरिएको छ ।