माओवादीका नेता कुँबरले दिए विद्रोहको चेतावनी, फेसबुकमा भने– सामूहिक राजीनामा हुन सक्छ, स्वतन्त्र हुन सक्छौ
महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता शंकर कुँबरले धरातलीय यर्थाथा नबुझेर टिकट वितरण गरिए कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क र ख मा विद्रोह हुने चेतावनी दिएका छन् । उनले दुबै प्रदेशका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएर स्वतन्त्र बस्ने बताएका छन् ।
‘पार्टीले धरातल नबुझी आत्म केन्द्रित निर्णय गरे कञ्चनपुर ३ क र ख मा सामूहिक राजीनामा हुन सक्छ, हामी स्वतन्त्र हुन सक्छौ’ नेता कुँबरले भनेका छन् ।
सत्तारुढ गठबन्धनमा कञ्चनपुर ३ मा क माओवादी र ख काँग्रेसलाई दिने गरी भागबण्डा भएपछि माओवादी नेता कुँबर असन्तुष्टि व्यक्त गरेका छन् । ३ क मा माओवादी केन्द्रका कञ्चनपुर इन्चार्ज टिकेन्द्र प्रसाद भट्ट उम्मेदवार हुने भएका छन् ।
यस अघि सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीका प्रकाश रावललाई उम्मेदवार बनाउने गरी छलफल गरिएको थियो । गठबन्धनमा सहमति हुन नसकेपछि समाजवादीलाई बाहिर राखेर ३ क मा भट्टलाई चुनाव लडाउन लागिएको हो ।