
महेन्द्रनगर । प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन पूर्वमन्त्रीले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रकी नेता बिना मगरले मनोनयन दर्ता गराएकी छिन्। यसअघिको निर्वाचनमा उनी भारी मतले विजयी भएकी थिइन् ।
नेकपा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएकी छिन् । अघिल्लो निर्वाचनमा मगरलाई जिताउन सक्रिय लामा यसपटक भने उनकी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकी छिन् ।

निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री मगरसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश (एनपी)साउद चुनावी मैदानमा छन् ।
२०७४ को निर्वाचनमा आफूलाई हराएका एमाले नेता नरबहादुर धामीसित साउदको दोस्रोपटक चुनावी भिडन्त हुँदैछ । क्षेत्र नं २ मा १० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा एमालेका नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लोपटक एमालेका नेता डा. दीपकप्रकाश भट्टसित थोरै मतान्तरले पराजित नेता लेखक यसपटक सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।
यता समानुपातिकबाट सांसद बनेकी एमाले नेत्री पाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाउने छ । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा प्रतिनिधिसभाका तीन सिटमा आइतबार ३१ जना र प्रदेशसभाका छवटा सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
