महेन्द्रनगर । कृष्णपुर नगरपालिकास्थित कञ्चन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक जगदिश प्रशाद भट्ट नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । एमाले छाडेर नेकपा एकीकृत समाजवादी भएका उनी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा माओवादी प्रवेश गरेका छन् ।
एमालेमा तत्कालिन माधव नेपाल समूहका भट्ट एमाले विभाजनपछि समाजवादी गएका थिए । अहिले समाजवादी छाडेर माओवादी गएका उनी अध्यक्ष ओलीका कट्टर आलोचकका रुपमा चिनिने गरेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा कृष्णपुर नगरपालिकाका निवर्तमान मेयर कर्ण बहादुर हमालको चुनावी घोषणा पत्र भट्ट सहितकोे टीमले बनाएको थियो । चुनाव निर्वाचित भएपछि मेयर हमालले वेवास्ता गरेपछि उनी हमालसित असन्तुष्ट भएका थिए ।
तत्कालिन नेकपाको प्रचण्ड नेपाल समूहले अध्यक्ष ओली विरुद्ध गरिएका कार्यक्रममा सक्रिय सहभागी भएका उनले नेपाल समूहको बैठकमा हमालले आफूलाई वेवास्ता गरेको दुखेसो सुनाउने गरेका थिए ।
पूर्व क्याम्पस प्रमुख भट्टसंगै एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राम बहादुर राना, कलाकार तेजा ऐर पनि माओवादी प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी, सत्ता गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार ओमबिक्रम भाट लगायतले उनीहरु सबैलाई स्वागत गरेका छन् ।