
कञ्चनपुर ३ मा एमालेको चुनावी घरदैलो फेरि सुरु, भीनपा १३ मा निवर्तमान साँसद भट्ट सहित उम्मेदवारले गरे घरदैलो
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का एमालेका उम्मेदवारले भीमदत्त नगरपालिका १३ मा चुनावी घरदैलो गरी मतदातालाई भेटेका छन् । तिहारका कारण रोकिएको चुनावी घरदैलोलाई तिहार सकिएपछि फेरि निरन्तरता दिइएको हो ।
घरदैलोमा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवील, प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट र समानुपातिक उम्मेदवार हिरा सिह सार्की र निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट लगायतका नेता सहभागी भएका छन् । घरदैलोमा निवर्तमान साँसद भट्ट सहितले विकास र समृद्धिका लागि मत दिन आग्रह गरेका छन् ।

एमालेका नेता भट्ट अघिल्लो निर्वाचनमा काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकलाई हराउँदै निर्वाचित भएका थिए । निवर्तमान साँसद भट्टले पाँच वर्षे कार्यकालमा बन्द मझगाउँ विमानस्थल पुनः सञ्चालन र महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण कार्य अघि बढाएका छन् ।
महाकाली प्रादेशिक अस्पताल सुधार गरेका उनले सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाएका छन् । उनी निर्वाचित भएपछि दोधारा चाँदनी नगरपालिकाको कञ्जनभोजमा बन्दरगाह बनाउन नहुने भन्दै ढुङ्गामुढा गरिएको थियो । त्यसपछि साँसद भट्टले सर्बैदलीय छलफल गरी दोधारा चाँदनी नगरपालिका १ मा ल्याएर बन्दरगाह शिलान्यास गराएका छन् ।
महाकाली सिँचाई आयोजना तेस्रो चरणको गहुताणी महाकाली नदीसम्मको नहर निर्माण भट्टले गरेका छन् । दोधारा चाँदनीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गैर सरकारी संस्थासित सहकार्य गरी चिकित्सक उपलब्ध गराएका छन् ।
निवर्तमान साँसद भट्टको कार्यकालमा थालिएका मझगाउँ विमानस्थल निर्माण कार्य, महाकाली कोरिडोर निर्माण कार्य र सुख्खा बन्दरगाहको काम रोकिएको छ ।
नेकपा एमालेको भीमदत्त नगर कमिटीका अध्यक्ष हिमाल चन्दले अधुरा योजना पूरा गर्नका लागि पनि एमालेले भोट मागेको बताए ।
‘हाम्रो पालामा थालिएका काम रोकिएका छन्, के कारणले रोकिएका हुन्, जवाफ मागि रहेका छौ’ उनले भने,‘ती बन्द छन्, ती अधुरा सहित विकास र समृद्धिका लागि प्रतिवद्धता लिएर चुनावमा आएका छौ ।’
