दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहले दोधारा चाँदनी नगरपालिकाका तीन वडामा सम्पर्क कार्यालय खोलेका छन् ।
उनले आइतबार दोधारा चाँदनी नगरपालिका वडा नं. ४, ५ र ६ वडामा निर्वाचन सम्पर्क कार्यालय खोलेका हुन् । यस अघि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने भिमदत्त नगरपालिकाको बिभिन्न वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
सम्पर्क कार्यालय स्थापनापछि उनी नगरपालिकाका घरदैलोमा निस्किएका छन् । चुनावी घरदैलोको क्रममा उनी सबै क्षेत्रका ब्यक्तिबाट सुझाव समेत संकलन गरिरहेका छन् ।
सम्पर्क कार्यालय स्थापना संगै दोधारा चा“दनी नगरपालिकामा घरदैलो कार्यक्रमलाई तिव्रता दिने बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्टमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्ने क्रममा राजनीतिलाई सेवा बनाउनु पर्ने उनको भनाई छ ।
‘राजनीति पेसा होइन्, सेवा हो, एक पटक जितेका व्यक्तिका लागि ५ वर्षको कार्यकाल प्रयाप्त हो,’ उनले भने । एउटै व्यक्ति पटक पटक सांसद हुने तर जनताका लागि केही काम नगर्ने प्रबृति अन्त हुनुपर्ने सिंहले बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो विकास र उत्पादनमुखी उद्योग स्थापनालाई उनले प्रमुख एजेण्डा बनाएका छन् । ‘शिक्षा र स्वास्थ्यमा सबै नागरिकको सहज पहुच हुनु पर्छ, निशुल्क गरिनुपर्छ,’ उनले भने, ‘युवालाई रोजगारी दिनका लागि उत्पादनमुखी उद्योगमा हामी जोड दिन्छौं ।’