काँग्रेस नेता बोहराले पसलको ताला काटेर खाजा घरका समान घर लगेपछि उत्पन्न विवाद बाणिज्य संघमा छलफल, अर्को दिन बस्ने गरी स्थगित
महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ का निवर्तमान वडा अध्यक्ष काँग्रेस नेता लक्ष्मी दत्त बोहराले पसलमा ताला काटेर समान घर लगेपछि उत्पन्न विवाद समाधानका लागि गरिएको छलफल अर्को दिन बस्ने गरी सकिएको छ । काँग्रेस नेता बोहराले ताला काटेर समान घरमा लगेपछि उपहार खाजा घरका सञ्चालक हरिश भट्टको परिवारले कञ्चनपुर उद्योग बाणिज्य संघलाई गुहारेको थियो ।
बाणिज्य संघमा आइतबार छलफल गरिए पनि निष्कर्षमा पुग्न नसकेको संघका कार्य वाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए । ‘छलफल भयो, सहमति भएर निष्कर्षमा पुग्न सकेन’ उनले भने,‘अर्को दिन बोलाउँछौ ।’
बोहराले असोज अन्तिम साता ताला काटेर समान घर लगेर राखेका छन् । बोहराबाट भाडामा लिएका शेर सिह धानुकबाट ७ लाखमा किनेर भट्टले व्यवसाय गर्दै आएका थिए । गुरुजी फेन्सी स्टोर खोलेर व्यवसाय सुरु गरेका भट्ट परिवारले पछिल्लो पटक खाजा घर सञ्चालन गरेका थिए ।
खाजा घरका सञ्चालक भट्ट सवारी दुर्घटनामा परेपछि केही महिनादेखि पसल बन्द गरिएको थियो । पसल बन्द भएपछि बोहराले ताला तोडेर समान घरमा लगेर अर्कैलाई भाडामा लगाएका छन् ।
तत्कालिन नगर विकास समितिबाट जग्गा भाडा लिएर निवर्तमान वडा अध्यक्ष बोहराले पसल बनाएर भाडामा लगाएका थिए । बोहराबाट भाडामा लिएका धानुकबाट भट्ट परिवारले पसल किनेका हुन् । ‘ताला तोड्छौ भनेर खबर गरिएको थियो, त्यसभित्र सबैका समान लगेर गएका रहेछन्, अर्कै व्यक्तिलाई पनि भाडामा लगाइएको छ’ भट्टकी धर्मपत्नि पार्वतीले भनिन् ।
उनका अनुसार खाजा घरभित्र ६ लाख बढी मूल्यका सरसमान थिए । बोहराले भट्ट परिवारका सदस्यको अनुपस्थितिमा भाडा नदिएको भन्दै प्रहरी लगाएर ताला तोडेका थिए । ‘भाडा नदिएको भनेर ताला तोडेर समान घरमा लगिएको छ’ उनले भनिन्,‘भाडा दिएका छौ, श्रीमान दुर्घटनामा परेपछि पसल बन्द भएपछिको भाडा दिन बाँकी छ ।’
उद्योग बाणिज्य संघको छलफलमा बोहराले भाडा रकम दिएर समान लैजान दिने बताएका छन् । भट्ट परिवारले भने पसल किन्दा लागेको सात लाख सहित समान दिनु पर्ने अडान लिएका छन् । ‘हामीले ७ लाखमा पसल किनेका छौ, त्यो सहित समान दिनु पर्छ भनेर भनेका छौ’ उनले भनिन्,‘त्यसका लागि बाणिज्य संघमा पुगेका हौ ।’
भट्ट परिवारले मासिक ६ हजारका दरले पसलको भाडा तिर्दै आएका छन् । निवर्तमान अध्यक्ष बोहराले नगर विकास समितिबाट जमिन भाडामा लिएर डेढ दर्जन बढी पसल बनाएर भाडामा लगाएका छन् । उनी २०७४ को निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।