
पूर्व मन्त्री मगरले यसरी गर्न थालिन आलोचनाको बचाउ, भन्छिन्– मैले मुख्यमन्त्रीलाई घुमाएपछि यो क्षेत्रमा बजेट आएको हो, एमालेका व्यत्तिले मैले बजेट ल्याए भन्नु कसरी सम्भव छ ?

महेन्द्रनगर । सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विना मगर पाँच वर्ष केही गर्न नसकेको भन्दै आलोचित हुन थालेपछि बचाउ गर्न थालेकी छन् । उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ल्याएर योजना हाल्न लगाएकोसम्म प्रचार गरेकी छन् ।
पुनर्वास नगरपालिकाको परासनमा गरिएको कार्यक्रममा उनले सुदूरपश्चिमको प्रदेश सरकार हुने तर विकास निर्माणका योजना अरुले मैले ल्याए भनेर जनतामा भ्रम छर्नु गलत भएको बताएकी हुन् ।

अघिल्लो निर्वाचनमा जितेर साढे तीन वर्ष मन्त्री भएकी मगर अहिले फेरि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य लडेकी छन् । मन्त्री भएर पनि तीन वर्षमा केही गर्न नसकेको भन्दै निर्वाचनमा व्यापक प्रचार भएपछि उनी प्रष्टीकरण दिने अवस्थामा पुगेकी छन् ।
एमालेका उम्मेदवार तारालामा तामाङ्गलाई संकेत गर्दैै उनले परासनमा आफूले बजेट हालेको भनेर गलत प्रचार गरिएको बताएकी छन् । तामाङ्गले सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री हुँदा आफूले ल्याएको विकास योजनाबारे मतदातालाई जानकारी दिने गरेका छन् ।
‘मेरो आग्रहमा प्रदेशका मुख्यमन्त्रीले कञ्चनपुर १ मा अवलोकन गराई यहाँका सडक, पुल पुलेसाहरुमा बजेट हालिएको हो’ उनले भनिन्, ‘तर अहिले केहिले मैले यो बिकास निर्माणका काम गरेँ भनेर जनतामा भ्रम छरिएको छ ।’
उनले भनिन् –अहिले मैले योजना ल्याए भनेर जनतामा भ्रम फैलाउनु झुट हो । सुदूरपश्चिममा माओवादी , समाजवादी र नेपाली काँग्रेसले सरकार चलाउने एमालेका ब्यक्तिले बजेट ल्याए भन्नु कसरी सम्भव छ ?’
