
महेन्द्रनगर । सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका–६ ङ गाउँबाट लागूऔषध खैरो हेरोइनसहित एक युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पक्राउपछि शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका ३० वर्षिय प्रकज पन्तलाई इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीको जिम्मा लगाएको छ ।
पक्राउ गरिएका पन्त शुक्लाफाँटा नगरपालिकाकी उप मेयर कल्पना जोशी पन्तका छोरा भएको खुलेको छ। उनी पक्राउ परेपछि नाम सार्बजनिक नगर्न र छाडन प्रहरीमाथि दवाव बढिरहेको स्रोतले जनाएको छ ।

शनिबार दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले पुरानो भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई २० दशमलव ४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।
उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ । पन्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागू औषध खरिद गरी ल्याएको खुलेको प्रहरी स्रोतले जनायो ।
उनी पक्राउ परेपछि छाडन दवाव दिदै कांग्रेस नेताहरुले फोन गरिरहेको स्रोतको दाबी छ । सशस्त्र प्रहरीले थप अनुसन्धानका लागि पन्तलाई हिजै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएपछि नेताहरुले छाडन चर्को दवाव दिइरहेको उक्त स्रोतको भनाई छ।
(साभार : सीमा रेखा
