कटौती गरिएको सडक कालोपत्रेको बजेट विनियोजन गर्ने मेयर बोगटीको प्रतिवद्धतापछि भीनपा १८ का अध्यक्ष देबकोटाको सडक धर्ना स्थगित
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देबकोटाले मेयर पदम बोगटीले सबै सडकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेपछि धर्ना कार्यक्रम स्थगित गरेका छन् । सडक कालोपत्रेको बजेट कटौती गरिएपछि वडा अध्यक्ष देबकोटाले सम्बन्धित सडकमा बसेर धर्ना दिएर विरोध गरेका हुन् ।
भीनपा १८ निम्बुखेडास्थित जनज्योति टोल ख मा सोमबार धर्ना बसेका वडा अध्यक्ष देबकोटालाई मेयर बोगटीले फोन गरी वार्ताका लागि कार्यालय बोलाएर बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेका छन् । मेयर बोगटीको प्रतिवद्धतापछि अध्यक्ष देबकोटाले एक सातादेखि बजेट कटौती विरुद्ध गर्दै आएको धर्ना स्थगित गरेका छन् ।
अध्यक्ष देबकोटा मंसिर २० गते पत्थपुर सडकबाट धर्ना सुरु गरी भगतपुर, गोबरैया, खैरभट्टी हुँदै सोमबार निम्बुखेडा पुगेका हुन् । उनी मंगलबार भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बस्नेत तयारीमा थिए ।
‘मेयर सापले हिउँदे अधिवेशनबाट कटौती गरिएको बजेट सबै योजनामा हाल्छु भन्ने प्रतिवद्धता सहित निर्णय गरिएको छ, मेयर सापको निर्णयपछि अहिलेलाई सडकमा बसेर धर्ना कार्यक्रम रोकिएको छ ।’
अध्यक्ष देवकोटाले सात दिनसम्म सडकमा धर्ना बसेर पनि स्थानीयलाई भने सेवा दिएका थिए । देवकोटाले धर्ना बसेका सबै क्षेत्रमा स्थानीयबाट साथ पाएका छन् ।
भीमदत्त नगरपालिकाले अघिल्लो आर्थिक वर्ष कालोपत्रेका लागि ठेक्का दिएका सडकमा बेस बनाएर छाडेपछि वडा अध्यक्ष देवकोटाले धर्ना बसेर नगरपालिकालाई दबाव दिएका छन् । चार स्थानमा धर्ना बस्दा वास्ता नगरेका मेयर बोगटीले सोमबार उनको धर्नामा चासो देखाउँदै नगर प्रवक्ता महेन्द्र खड्का र प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई धर्ना स्थलमा पठाएका हुन् ।
धर्ना स्थलबाट प्रवक्ता खड्काले मेयर बोगटीलाई फोन गरेपछि अध्यक्ष देबकोटा स्थानीय सहित छलफलका लागि नगरपालिका आएका हुन् । मेयर बोगटीले फोन गरी आफूलाई बजेट कटौतीबारे जानकारी नभएको बताउँदै कार्यालयमा आउन अध्यक्ष देबकोटालाई आग्रह गरेका थिए । केही स्थानीयले भने मेयर बोगटी आफैं धर्ना स्थलमा आउनु पर्ने माग पनि राखेका थिए ।
स्थानीय सहित नगरपालिका कार्यालय आएर उनले मेयर बोगटीलाई आफूले धर्ना बसेको कारण जानकारी गराए । उनले नगरपालिकाले कजेट कटौती गरी विकास निर्माण कार्यलाई प्रभावित पार्न खोजेको दुखेसो राखे ।
‘अघिल्लो वर्ष ठेक्का भएर काम अघि बढेको छ , यस वर्ष कसरी बजेट विनियोजन रोकियो’ उनले भने,‘यो मेरो व्यक्तिगत विषय होइन, यो सम्पूर्ण वडा वासीको माग हो ।’
पत्थपुरबाट गोबरैयासम्म धर्ना बस्दा समेत मेयरले चसो नदेखाएपछि आइतबार अध्यक्ष देवकोटाले नगरपालिकालाई दबाव पुग्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनले मंगलबार नगरपालिका कार्यालयमा आएर धर्ना बस्ने र त्यसपछि कार्यालययमा तालाबन्दीसम्म गर्ने सोच बनाएका थिए ।
भीमदत्त नगरपालिका १८ निम्बुखेडामा धर्ना कार्यक्रममा आएका स्थानीय ध्रुव कायस्थले वडा अध्यक्षको मागलाई वेवास्ता गरी मेयरले जनताको अपमान गरेको गुनासो गरे ।
‘जनातको सेवा गर्न भनेर वहाँलाई मेयर पठाएका हौ, त्यहाँ गएर कुर्चीमा बस्नलाई पठाएको होइन’ उनले भने,‘यतिका दिनसम्म धर्ना बस्दा पनि वहाँलाई थाह नहुने भन्ने कुरा हुन्छ, अब यहाँ आउन सक्नु हुन्छ भने हामी त्यहाँ जान्छौ, त्यसपछि थाह हुन्छ ।’
मेयर बोगटीले पठाएका प्रवक्ता र प्रमुख प्रशासकीय अधिकृत गौलीलाई स्थानीयले सुरुमा मेयर र उप मेयर आफैं आउनु पर्ने अडान राखे । केहीले प्रमुख प्रशासकीय अधिकृत गौलीलाई कार्यालयमा काममा ध्यान दिन समेत सुझाव दिए ।
धर्नामा सहभागी स्थानीय विष्णु कँडेलले नगरपालिकाले वडा अध्यक्षसित छलफल नगरी समस्या समाधान हुन नसक्ने बताए । ‘यो विषय कार्यालय प्रमुखसित छलफल गरी समाधान हुन सक्दैन, मेयरसित छलफल गर्नु पर्छ’ उनले भने ।
स्थानीय दामोदर पाण्डेयले सडक कालोपत्रेको बजेट कटौती गरी टोलका सबै स्थानीयमाथि अन्याय गरिएको बताए । ‘यो बाटो किनारमा मात्रै १६÷१७ परिवार छौ, अरु टोलका सबैले बाटो हिँड्न हुन्, बाटो कालोपत्रे हुने भएपछि खुसी थियौ,’ उनले भने,‘चार मिटरको बाटोलाई ६ मिटर बनाउन जग्गा पनि दियौ, अहिले त कालोपत्रे नै नगरी बजेट काटिएको रहेछ, यो हामी सबैमाथिको अन्याय हो ।’