
जागिरबाट हटाएका कर्मचारीलाई पक्राउ गर्न लगाएपछि भगतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित भगतपुर निम्बुखेडा सरसफाई तथा उपभोक्ता समितिका उपभोक्ताले स्थापनाकालदेखि कार्यरत श्याम कुमार चौधरी सहित दुई जना जनालाई हटाएपछि कार्यालयमा तालाबन्दी गरेका छन् । उपभोक्ता समितिले गत भदौमा प्लम्बर चौधरी सहित उनकी श्रीमती शारदालाई नयाँ कर्मचारी नियुक्त गरी हटाएको थियो । उनीहरु दुबै जना समितिका स्थापनाकाल देखिका कर्मचारी हुन् ।
समितिले नयाँ नियुक्त गरी आफूलाई विना कारण हटाएको भन्दै चौधरी दम्पत्ति न्यायका लागि श्रम कार्यालयसम्म पुगेका छन् । श्रम कार्यालयबाट निर्णय नहुँदै उपभोक्ता समितिले चौधरीलाई पक्राउ गर्न लगाएपछि उपभोक्ताले कार्यालयमा तालाबन्दी गरेका छन् । उपभोक्ता समितिका अधिकाँश सदस्यले समितिको मनपरी भएकाले चौधरीको पुनर्वहाली सहितका माग राखेर तालाबन्दी गरेका छन् ।

समितिले जागिरबाट हटाएपछि श्रम अदालत गएका चौधरी समितिको भवनमा बस्दै आएका थिए । समितिले उनलाई सुरुमा बस्नका लागि कोठा सुविधा दिएको थियो । समितिले गत असारमा नयाँ कर्मचारी राखेपछि चौधरी दम्पत्तिमाथि विभिन्न लाञ्छना लगाउँदै हटाएको थियो ।
चौधरी दम्पत्ति २०७३ सालदेखि समितिमा कार्यरत छन् । उनीहरुलाई २०७८ सालदेखि मात्रै सेवा सुविधा दिइएको थियो । पछिल्लो पटक चौधरीलाई मासिक ९ हजार र उनकी श्रीमतिलाई ६ हजार तलब दिइएको थियो । चौधरी दम्पत्तिले तलब सुविधा बढाउनु पर्ने माग राखेपछि समितिले उनीहरुलाई हटाउन नयाँ कर्मचारी भर्ना गरेको थियो ।
उपभोक्ताहरुका अनुसार नयाँ भर्ना गरिएका कर्मचारीहरु समितिका पदाधिकारी र कर्मचारीका आफन्त छन् । समितिमा अधिकाँश पदाधिकारी र सदस्य सत्तारुढ गठबन्धन आवद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ता छन् ।
सत्तारुढ गठबन्धनको सरकार भएकाले उनीहरुले जागिरबाट हटाएका चौधरीलाई प्रहरीलाई पक्राउ गर्न लगाएको भन्दै उपभोक्ता आक्रोशित भएका छन् । उनीहरुले चौधरी पुनर्वहाली सहित समिति विघटन र नयाँ कर्मचारी नियुक्त छानबिनको पनि माग राखेका छन् ।
