महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावलले सत्तारुढ गठबन्धनका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताएका छन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै रावलले नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा निर्धारित समय भित्रै दाबी पेश गरिने बताए ।
सत्ता गठबन्धनमा भागबण्डामा पहिलो चरणमा एमालेले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने सहमती भएपछि रावल मुख्यमन्त्री बन्दैछन् । रावलले अहिलेका सत्ता गठबन्धनमा रहेका सबै दलहरुबीच साझा सहमतीका आधारमा मुख्यमन्त्रीमा दाबी पेश गरिने बताएका हुन् ।
उनले गठबन्धनमा आवद्ध दलहरुबीच सहमती गरेर सरकार गठन गरेर सुदूरपश्चिमलाई समृद्धिको यात्रामा अघि बढाइने पनि बताए । सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमती भएको छ ।
नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरिएको छ तर उन्मुक्ति पार्टीले सरकारमा सहभागीताका विषयमा निर्णय लिन २४ घण्टाको समय मागेको छ । प्रदेश प्रमुखले २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्ने आह्वान गरेका छन् ।
५३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टी समेत सहभागी भएको अवस्थामा अहिलेको सत्तारुढ गठबन्धनको पक्षमा स्पष्ट बहुमत छ । यहाँ नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसद गरेर गठबन्धनको पक्षमा २९ जना छन् ।
सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का ४ र एक जना स्वतन्त्र सांसद छन् ।