
महेन्द्रनगर । छाडा पशु चौपायाको आधुनिक व्यवस्थापन गर्ने आश्वासन दिँदै आएको भीमदत्त नगरपालिकाले चौपायाका लागि खरका टहरा बनाउने तयारी थालेको छ । चौपाया राख्ने टहरा बनाउने नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग समन्वय गरी खर संकलन गर्न थालेको हो ।
भीमदत्तका मेयर पदम बोगटी, उप मेयर नीलम लेखक जोशी, वडा अध्यक्ष सहित नगर प्रहरी ,नेपाली सेना, लोक कल्याणकारी सेवा ट्रष्टका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर),ट्रष्टका संरक्षक हरी शरण महाराज सहित सोमबार निकुञ्जमा खर काट्न पुगेका छन् ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले अस्थायी व्यवस्थापनका लागि खर काटिएको बताए । गौमाता तथा नंदीको व्यवस्थापनका लागि टहरा(गोठ) निर्माण गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नेपाली सेना,लोक कल्याणकारी सेवा ट्रष्टसंग समन्वय गरि खर कटाइ तथा संकलन गर्न थालेको नगर प्रमुख बोगटीले बताए ।
‘सडकमा छाडिएका गौमाता तथा नंदीको व्यवस्थापनका लागि अस्थाइ टहरा(गोठ) निर्माण गर्न नगर उप प्रमुख,वडा अध्यक्षहरु,नगर प्रहरी,लोक कल्याणकारी सेवा ट्रष्टका संरक्षक हरि शरण महाराज,अध्यक्ष कृष्णदत्त जोशी,नेपाली सेना सहित हामीहरु आज(सोमबार) शुक्लाफाँटा निकुञ्जमा गएर खर काटेर संकलन गरेका छौ ।
निकुञ्जमा बुधबारसम्म खर काटिने भएको छ । यस अघि निकुञ्जले खर काट्न खुला गरेको थियो । चिसो मौसमा सडकमा छाडिएको चौपायाका लागि गर्मी बढेपछि खरका टहरा बनाउन थालिएको हो ।
‘नगर क्षेत्रभित्र विभिन्न क्षेत्रमा टहरा(गोठ) निर्माण गरि केही दिनमै सडकमा छाडिएका गौमाता तथा नंदीको व्यवस्थापन गर्छौ ।’
सामुदायिक चौपायको व्यवस्थापनका लागि सबैको साथ सहयोगको आवश्यकता रहने नगर उपप्रमुख जोशीले बताइन् । ‘आज हामीलाई चौपायको व्यवस्थापनका लागि टहरा निर्माण गर्न खर काट्न संकलन गर्न नेपाली सेना,लोक कल्याणकारी सेवा ट्रष्ट,निकुञ्ज लगाएतको सहयोग एवम् समन्वय गर्नु भएको छ ।’
कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुरका अध्यक्ष जोशीले सामुदायिक चौपायको व्यवस्थापनका लागि पार्टीभन्दा माथी उठेर एक जुट भएर सबैले लाग्नुपर्ने बताए ।
उनी स्थानीय तह निर्वाचनमा भीमदत्तको उप मेयरमा चुनाव लडेका थिए । गत महिना स्थानीयले चौपाया नगरपालिका कार्यालय हुलेपछि जोशी सहितको सहभागितामा नगरपालिकाले एक साताभित्रै चँैपाया व्यवस्थापन गर्ने प्रतिवद्धता गरेको थियो ।
‘नगर प्रमुख,उपप्रमुखको सक्रियताले यो सामुदायिक चौपाय व्यवस्थापनको कदम अगाडी बढेको छ’जोशीले भने, ‘म संघ,प्रदेश सरकारलाई पनि अनुरोध गर्न चाहन्छु सबै हातेमालो गरौँ म पनि चुनावमा उपमेयरमा उठेर हारे तर पार्टीभन्दा माथी उठेर यो सामुदायिक चौपायको व्यवस्थापनका लागि सबै एकजुट भएर लागौँ,सबै एकजुट भएर लागेपछि सबैकामहरु सफल हुन्छन् ।’
यस्तै ट्रष्टका संरक्षक हरि शरण महाराजले लोक कल्याणकारी सेवा ट्रष्टले सबैलाई सहयोग गर्ने गरेको बताउदैँ गौमाताको व्यवस्थापनका लागि गौमाताको उपयोगिताका बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताए ।
नगर प्रमुख बोगटीको अध्यक्षतामा बसेको बैठकले दुई महिना अघि जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा समिति गठन गरेको थियो ।
समितिमा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट,१४ का वडाध्यक्ष भोजराज जोशी,७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी र १८ का वडासदस्य सीता भण्डारी सदस्य र अमिन गंगादत्त जोशी सदस्य सचिव राखिएका थिए ।
समितिले प्रतिवेदन बुझाएको एक महिना भन्दा बढी हुँदा पनि नगरपालिका वेवास्ता गर्दै आएको छ । बोहरा नेतृत्वको समितिलाई प्रत्यक ३÷४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्न जिम्मेवारी दिइएको थियो । समितिले बुझाएको प्रतिवेदनमा उल्लेखित जग्गा एवम् क्षेत्रहरुमा टहरा निर्माण गरी चौपाया व्यवस्थापन गरिने नगर प्रवक्ता खड्काले बताए ।
यसअघि पनि नगरपालिकाले चौपाया व्यवस्थापनका लागि बेदकोट नगरपालिका, गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगायतसंग समेत छलफल गरेको थियो ।
