

महेन्द्रनगर । खुला मञ्चमा कार्तिक ६ गतेदेखि रामलिला लाग्ने भएको छ । निङलाशैनी जगन्नाथ रामलिला समितिले रामलिला आयोजना गर्ने तयारी सुरु गरेको छ । खुला मञ्चमा लगाउने तयारी गरिएको रामलिला यस अघि गोबरैयामा आयोजना हुँदै आएको थियो ।
निङ्गलाशैनी रामलिला समितिले २०७१ देखि गोबरैयामा धेरै लामो समयपछि रामलिला आयोजना गर्न थालेको थियो ।
सशस्त्र द्वन्द्वकालमा बन्द हुन पुगेको रामलिला पुनः आयोजना २०८१ सम्म निरन्तर सञ्चालन गरिएको थियो ।
गत वर्ष जेनजी आन्दोलन र फागनु २१ गतेको चुनाव कारण रामलिला आयोजना हुन सकेन । अघिल्लो वर्षसम्म निङ्गलाशैनी भगवती मन्दिर नजिक मैदानमा रामलिला हुँदै आएको थियो ।
यस पटक गोबरैयाबाट खुलामा रामलिला आयोजना गर्ने तयारी गरिएको छ ।
निङ्गलाशैनी रामलिला समिति र व्यवसायी घनानन्द लेखकको जगन्नाथ स्वामी रामलिलाको समिति एकीकरण भएर निङ्गलाशैनी जगन्नाथ राम लिला समिति बनाएर खुला मञ्चमा आयोजना गर्न लागेका हुन् ।
समितिले शनिबार विहान पत्रकार सम्मेलन गरी रामलिला आयोजना सम्बन्धि जानकारी दिएको छ ।
कार्तिक ६ देखि १३ दिन लगातार रामलिला सञ्चालन हुने जानकारी दिइएको छ । रामलिला औपचारिक सुरु हुने अघिल्लो दिन आरती लगायतका कार्यक्रम गरिने बताइएको छ ।

खुला मञ्चमा आयोजनाको तयारी गरिएको रामलिला १० औं हो । २०७१ मा पहिलो पटक निङ्गलाशैनी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो ।

रामलिला समितिका संयोजक निरञ्जन प्रसाद भट्टले देशमा नकारात्मकता धेरै बढेको र आपशी भाइचारा खलबलिने अवस्थामा पुगेकोले रामलिला गरी समाजलाई केही ज्ञान हासिल हुने बताए ।
‘यस पटक सबैले हेर्न मिल्ने गरी खुला मञ्चमा गर्न लागेका छौ, देशमा विकृति, बिसगति, भाइचारा पनि नरहने अवस्था छ’ उनले भने, ‘बाढी पीडित समस्या छ, देशमा पनि के के भइ रहेको छ, देशमा अनिष्ट नहोस, सुख शान्ति होस, समाज पनि नराम्रो अवस्थामा गई रहेको छ, दुव्र्यसनीमा फसेको छ, यो राम लिलाबाट केही न केही ज्ञान समाजले सिकोस ।’
संयोजक भट्टले विगतका रामलिलाबाट संकलन भएको सहयोग रकमबाट एम्बुलेन्स खरिद गरिएको बताए ।
राम लिलाका सह संयोजक भानदेब भट्टले हालसम्म गरिएका सबै रामलिलाको सहयोग रकम सत्कर्ममा लगाएको बताए ।
‘यस अघि एम्बुलेन्स किन्यौ, हरेक रामलिलामा आएको पैसा कोषमा जम्मा हुने र हर हिसाब राख्ने गरिन्छ’ उनले भने, ‘एक एक पैसाको हिसाब दिने प्रतिवद्धता गर्छौ ।’
निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका सरक्षक घनानन्द लेखकले समाज सुधार, धर्म संस्कृति संस्कार र सामाजिक सद््भाव कायम राख्न रामलिला गर्न लागिएको बताए ।
उनले खुला मञ्चमा रामलिला तयारी थालिएको बताए । राम लिला समाजसेवी टिकाराम भट्टले उद्घाटन गर्ने छन् ।
झण्डै १० लाख रामलिलामा खर्च लाग्ने अनुमान गरिएको छ ।
रामलिलाबाट संकलन हुने सहयोग रकमको आधा भोटेकोशी बाढी पीडितलाई सहयोग गरिने समितिका सदस्य सचिव पदमराज भट्टले जानकारी दिए ।
समितिका सह संयोजक महेश चन्दले महोत्सव सभ्य भव्यदेखि आवश्यक सुुरक्षा लागि प्रशासनदेखिका सुरक्षा निकायसंग समन्वय गरिएको बताए ।
रामलिला समितिका सह संयोजक कृष्णदेव पन्तले भारतीय बुलाकी रामदासले एक सय तीन वर्ष अघि बैतडीको नकतडीमा रामलिला मञ्चन सुरु गरेको उल्लेख गर्दै त्यसपछि निरन्तरता दिँदै हालसम्म पुगेको बताए ।
राम लिला सह संयोजक भानदेब भट्ट रावण सहित महेश चन्द, लगायतले पात्रको भूमिका निर्वाह गर्ने छन् ।
पत्रकार सम्मेलनमा समितिका सल्लाहकार गणेश बहादुर चन्द, निङ्गलाशैनी भगवती समितिका अध्यक्ष करबीर सिह भण्डारी लगायत सहभागी भए ।
