

महेन्द्रनगर । असोज तेस्रो साता ब्रह्मदेबस्थित सीमावर्ती बजार टनकपुरबाट समान लिएर दुई जना मोटरसाइकलमा समान बोकेर भारतीय जङ्गलको बाटो भएर बजार आउँदै थिए ।
ब्रह्मदेब बजार दक्षिणको भारतीय जङ्गलमा ती दुई मोटरसाइकल पुगेपछि अचानक सादा पोशाकका एक जना मान्छेले रुखबाट हाम फाले । चलि रहेको बाइकमा हाम फालेका उनी हुत्तिएर बाटो किनार किनार पुगे । बाइक बजार हिँड्यो । पछाडि आउँदै गरेको अर्को बाइक फर्केर गयो ।
भारतीय जङ्गलबाट बाइक बजार पुगेको केही समयपछि सशस्त्र प्रहरीको टोली व्यवसायीको पसलभित्र पस्यो । त्यसपछि मात्रै भारतीय जङ्गलमा रुखबाट हाम फालेर समान नियन्त्रणमा लिन खोज्ने सशस्त्र प्रहरी खुल्यो ।
रुखबाट हाम फालेर समान नियन्त्रणमा लिन खोज्ने सशस्त्र प्रहरी भएको थाह पाउदासम्म ब्ह्र्मदेब बजारमा व्यवसयी र सशस्त्र प्रहरीबीच बिबाद चर्कि सकेको थियो ।
सशस्त्र प्रहरी पसलभित्र पसेपछि व्यवसायीहरु आक्रोशित हुँदै नाराबाजी गर्न थाले । केही समय विवाद भएपछि सशस्त्र प्रहरी पसल छाडेर निस्क्यो । सशस्त्र प्रहरीसित केही मिनेट मात्रै विवाद भएको स्थानीय बताउँछन् ।
तत्काल शान्त देखिएको विवाद ब्रह्मदेब बजारका व्यवसायी प्रेम बुढा पक्राउ परेपछि फेरि अर्को चरणमा पुग्यो । सशस्त्र प्रहरीसित विवाद हुँदा बुढा पनि व्यवसायीसित थिए ।
जिल्ला प्रहरी कार्यालयमा बुडा र अर्का व्यवसायी दिपक कार्कीको नाममा जाहेरी परेको थियो । सशस्त्र प्रहरीमाथि अभद्र व्यवहार गरेको जाहेरी आएपछि बुढालाई पक्राउ गरिएको थियो ।
बुढा हाजिर जमानीमा छाडिएका छन् । अर्का व्यवसायी कार्की पक्राउ परेका छैनन् ।
ब्रह्मदेबस्थित इलाका प्रहरी कार्यालयले बुणलाई पक्राउ गरी जिल्ला पुगाएको थियो । सशस्त्र प्रहरीको कुमासैनी पोष्टले ब्रह्मदेब बजार क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्दै आएको छ ।
सशस्त्र प्रहरीसित विवाद पछि ब्रह्द्मदेबका व्यवसायी घट्नाबारे बोल्न डराएकी छन् । उनीहरू प्रहरीले पकाउ गरेका बुढा बिना कारण पक्राउ गरिएको बताउँछन् ।
व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बिबादको जड भारतीय जङ्गलमा रुख चढेका सशस्त्र प्रहरी भएको वताउँछन् ।
उनीहरू सादा पोशाकमा लुकेर हाम फालेपछि त्यस दिन ठूलो दुर्घटना हुने अवस्था भएकोमा चिन्ता व्यक्त गर्छन् ।
‘त्यसरी समान ल्याउन हँुदैन थियो, ल्याउन पाइएन, प्रहरीले पनि भारतीय जङ्गलका रुख लुक्केर त्यस हाम फालेर समात्न त पाउँदैन होला’ नाम उल्लेख नगर्न आग्रह गर्दै एक व्यवसायीले भने, ‘त्यसरी समात्दा अरु दुर्घटना भएको भए को जिम्मेवार हुन्थ्यो ।’
व्यवसायीगरु सशस्त्र प्रहरीले घरायसी प्रयोजनका समान ल्याउन दिएको बताउँछन् ।
ब्रह्मदेबमा बजार व्यवस्थापन समिति नभएकाले पनि व्यवसायी विवादबारे बोल्न डराएका छन् ।
‘अहिले समिति छैन, कोले बोलि दिने, बोलेर पनि के हुने हो’ एक व्यवसायीले भने ।

कञ्चनपुर उद्योग बाणिज्य संघलाई व्यवसायीमाथि हुने समस्याको वास्ता नहुने उनीहरु गुनासो गर्छन् ।
साउन २० गते बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेब पन्तले राजीनामा दिएका थिए । त्यसपछि अहिलेसम्म समिति गठन हुन सकेको छैन ।
ब्रह्मदेब बजारमा एक सय २५ व्यवसायी छन् । उनीहरुमध्ये अधिकाँश कञ्चनपुर उद्योग बाणिज्य संघका सदस्य छन् ।
सशस्त्र प्रहरीसित विवाद पछि ब्रह्मदेब बजारको अन्तिमतिर कल्भर्टको खाल्डो ग्राभेल हालेर पुरिएको छ ।
यस अघि भारतीय एसएसबीले खाल्डोमा ग्राभेल हाल्न अवरोध गर्दै आएको थियो । यस पटक सशस्त्र प्रहरीसित विवाद भएपछि ग्राभेल गरिएको छ ।
सशस्त्र प्रहरी टोली बस्दै आएको कल्भर्टको खाल्डोले सवारी साधन उकाल्न समस्या भएको भन्दै व्यवसायीले भारतीय जङ्गलको बाटो भएर आउने गरेको बताएका थिए ।
ब्रह्मदेब बजार व्यवस्थापन समितिका पूर्व सचिव यज्ञराज भट्ट व्यवसायी मात्रै नभएर कसैले पनि गलत गर्न नहुने बताए । ‘हामीले गलत गर्न हुँदैन, घरायशी प्रयोजनका समान आउन दिइएको छ’ उनले भने ।
सशस्त्र प्रहरीको कुमासैनी पोष्टका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक सुरज देउवाले सशस्त्र प्रहरीको टोली भारतीय जङ्गलमा नभएर नेपाली भूमिमा बसेको बताए ।
‘भारतीय भूमिमा गएको होइन, त्यहाँ सीमा नजिक नेपाली भूमिमा गएर समान जाँच गरेको हो’ उनले भने ।
ब्रह्मदेब बजारमा अधिकाँश व्यवसायीले भारतीय र चाइनिज समानको कारोबर गर्दै आएका छन् । यी समान काठमाडौंबाट आउने गरेका छन् ।
व्यवसायीका अनुसार केही व्यवसायीले मात्रै भारतीय बजारबाट खेलौना ल्याएर कारोबार गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालयको आदेशपछि इलाका प्रहरी कार्यालय ब्रह्मदेबले बुढालाई पक्राउ गरी जिल्ला पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले सशस्त्र प्रहरीले समान समात्ने क्रममा विवाद भएपछि कार्यालयमा जाहेरी आएपछि बुढालाई पक्राउ गरिएको र अहिले हाजिर जमानीमा छाडिएको बताए ।
‘त्यहाँ विवाद भएपछि प्रहरी कार्यालयमा जाहेरी आयो, त्यसका आधारमा एक जनालाई पक्राउ गरेका थियौ, अर्को पक्राउ भएन, समातिएकालाई पनि हाजिर जमानीमा छाडेका छौ’ डीएसपी रावतले भने ।
ब्रह्मदेबका व्यवसायीहरु भन्सार नाका नहुँदा समस्या भएको बताउँछन् । सीमावर्ती भारतीय सहरबाट समान ल्याउन सकिने अवस्था नभएको उनीहरु सुनाउँछन् ।
ब्रह्मदेबस्थित सीमा चौकी नजिक छोटी भन्सार सशस्त्र द्वन्द्व कालमा बन्द भएपछि अहिलेसम्म पुनः स्थापन हुन सकेको छैन ।
टनकपुर ब्यारेज बनेपछि २०४८ मा ब्रह्मदेब बजार बसेको थियो । त्यस अघिसम्म स्थानीयले ट्युब चढेर भारतीय सीमावर्ती सहर आउजाउ गर्दै आएका थिए ।
