
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले फागुन १७ गते स्थानीय विदा दिएको छ । शुक्लाफाँटा नगरपालिका–८स्थित मणिकाधाम बैजनाथ मन्दिरमा लाग्ने मेलाको अवसरमा एक दिन स्थानीय विदा दिइएको हो ।
‘नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरुमा फागुन १७ गतेका दिन सार्वजनिक विदा दिने निर्णय भएको सम्बन्धित सबैमा जानकारी गरिन्छ,’ नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि नगरपालिका तथा बैजनाथ मन्दिर व्यवस्थापन समितिले आवश्यक तयारी गरेको नगर प्रमुख रणबहादुर महराले बताए ।
‘मेलालाई शन्तिपुर्ण, सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ उनले भने, ‘मणिकाधाममा लाग्ने मेलाले नगरसँगै मुलककै गरिमा बढाउँछ।’ मेलाले धार्मिक पर्यटनसँगै व्यावसायिक क्षेत्रलाई समेत टेवा पुग्ने उनको भनाई छ ।
‘यहाँ प्रकृतिक ताल छ, चुरेको फेदमा भएकाले पर्यटकलाई झन आकर्षित गर्दछ,’ उनले भने, ‘यहाँ कैलाली, कञ्चनपुर, डडेल्धुरा र भारतबाट समेत पर्यटक आउँछन्, हाम्रो नगरलाई चिनाउनका लागि सबैको सहयोग आवश्यक छ ।’
मणिका धामलाई यस क्षेत्रका स्थानिय बासिन्दाले मुडकाका नामले चिन्दछन। धाम क्षेत्रमा बैजनाथ वावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो तलाउ छ।
