भीमदत्त र दोधारा चाँदनीबीच फेरि रोयल्टी बाँडफाँटमा सहमति, भीमदत्त ५४ र दोधारा चाँदनी ४६ प्रतिशत पाउने
महेन्द्रनगर । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले फेरि महाकाली नदीको रोयल्टी बाँडफाँटमा सहमति गरेका छन् । भीमदत्त नगरपालिकामा सोमबार बसेका दुबै नगरपालिकाका प्रमुख सहितको छलफबाट रोयल्टी रकम बाँडफाँटमा सहमति गरेका हुन् ।
स्थानीय तह निर्वाचनपछि भीमदत्तले दोधारा चाँदनीसित रोयल्टी बाँडफाँट साझेदारी सम्झौता नविकरण नगरी सहकार्य तोडेको थियो । दुबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा नक्साङ्कन समेत गरेका थिए । यस अघि यी दुबै नगरपालिका आर्थिक वर्ष २०७५÷०७६ देखि रोयल्टी बाँडफाँट साझेदारीमा सम्झौता भएको थियो ।
दुई नगरपालिकाबीच सहमति अनुसार भीमदत्तले ५४ र दोधारा चाँदनी ४६ प्रतिशत रोयल्टी रकम पाउने भएका छन् । यस अघि दोधारा चाँदनी ३८ र भीमदत्त ६२ प्रतिशत पाउने सम्झौता थियो । नयाँ सहमति अनुसार दोधारा चाँदनीलाई ८ प्रतिशत रकम बढेको हो ।
दोधारा चाँदनीसित सहकार्य तोडिएपछि भीमदत्त रोयल्टी ठेक्काका लागि चाहिने कानुन प्रक्रिया मिलाउन अप्ठेरोमा परेको थियो । रोयल्टी ठेक्काका लागि आइआईई वा एआई गर्नु पर्छ । अहिले भीमदत्त आफ्नो क्षेत्रमा यी दुबै कानुनी प्रक्रिया पूरा नगरी अवैध रुपमा रोयल्टी संकलन गर्दै आएको छ । दोधारा चाँदनीले भने आफनो क्षेत्रमा आइइई गरी ठेक्का लगाई सकेको छ ।
भीमदत्तलाई आफ्नो क्षेत्रमा आईआईई गरी ठेक्का लगाउँदा अपेक्षित आम्दानी नहुने भएपछि दोधारा चाँदनीसित सहकार्यका छलफल गर्न थालेको थियो । दोधारा चाँदनीसित छलफलमा भीमदत्तले इआए गरी रोयल्टी ठेक्का लगाएर सहकार्यका लागि प्रस्तवा गरेको थियो ।
भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले महाकाली नदीको आइइईबाट अपेक्षित परिमाणमा नदीजन्य पदार्थ संकलन हुन नसक्ने भएपछि इआए गरी दुबै नगरपालिका सहकार्य गरी जाने सहमति भएको बताए । ‘अहिले दुबैले आफ्नो आफ्नो ढङ्गले संकलन गरि रहेका छौ, आइइइ गरी ठूलो मात्रामा उठाउन सकिदैन, त्यस कारण इआए गरी ठेक्का लगाउने र त्यसबाट हुने आम्दानी बाँडफाँटमा सहमति गरिएको छ ।’
दुबै नगरपालिकाबीच रोयल्टी रकम बाँडफाँटमा सहमति भएर इआएका लागि प्रक्रिया अघि बढ्ने उनले बताए । ‘दुबै नगरपालिकाका प्रमुख सहितको छलफलबाट रकममा सहमति भई सकेको छ, त्यस अनुसार इआइ गरी अर्को वर्ष ठेक्कामा जान्छौ’ उनले भने ।
भीमदत्तले इआएका लागि गत असारमा नगर सभाबाट बजेट विनियोजन गरेको थियो । दोधारा चाँदनी नगरपालिकाको कार्यपालिका बैठकबाट इआए गर्ने निर्णय गरेको छ ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको अध्यक्षतामा गरिएको छलफलबाट रकम बाँडफाँटमा सहमति गरिएको छ । यस अघि पनि दुबै नगरपालिकाबीच पटक पटक छलफल गरिएको थियो ।
दोधारा चाँदनीले सोमबारको छलफलमा पनि ५० प्रतिशत रकम पाउनु पर्ने अडान राख्दै आएको थियो । दुबै नगरपालिकाका प्रमुख सहित सहभागीबीच लामो छलफलपछि रकम बाँडफाँटमा सहमति जुटेको हो ।
छलफलमा भीमदत्तका मेयर बोगटी सहित दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, दुबै पालिकाका नगर उपप्रमुख निलम लेखक जोशी, गंगा जोशी, दुबै पालिकाका वडा अध्यक्षहरु, कार्यालय प्रमुख सहभागी भएका थिए ।
दुबै नगरपालिकाबीच केही समयपछि औपचारिक रुपमा समझदारीमा हस्ताक्षर हुने नगर प्रवक्ता खड्काले बताए ।