दिवा खाजा खाएर वनगाउँको सत्यवादी माविका विद्यार्थी विरामी, सडेको चाना पकाएको हुन सक्ने स्थानीयको आशंका
महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँस्थित सत्यवादी माध्यमिक विद्यालयमा दिवा खाजा खाएर विद्यार्थी विरामी परेका छन् । सोमबार विद्यालयमा दिवा खाजामा खुवाएको चाना खाएपछि विद्यार्थीहरु विरामी भएका छन् ।
विरामी विद्यार्थीको वनगाउँस्थित मेडिकलमा औषधि उपचार गरिएको छ । विद्यार्थी विरामी परेपछि अभिभावकहरुले विद्यालय प्रशासनलाई दिवा खाजामा लापरवाही गरिएको भन्दै आक्रोश पोखेका छन् ।
स्थानीय राजु सिह खड्काले सडेको चाना खुवाएकाले विद्यार्थी विरामी परेको हुन सक्ने बताए । ‘दिवा खाजामा एक विद्यार्थीलाई १५ रुपैँया बराबरको नास्ता खुवाउने गरिन्छ, त्यसको एक अण्डा पनि आउँदैन, यो त विद्यालयको पनि बाध्यता पनि छ , तर पनि राम्रो चाना किनेर खुवाउन पर्छ’ उनले भने,‘सडेको चाना भएर विद्यार्थी विरामी भएको हुन सक्छन् ।’
खड्काले आफना नाति नातिना समेत चाना खाएर विरामी भएको बताए । उनका नातिनी आरुषपा र नाति आरोप कक्षा १ मा पढ्छन् । घर फर्किएका नाति नातिना विरामी भएपछि सोधी गर्दा अन्य विद्यार्थी पनि विरामी भएको देखिएको खडकाले बताए ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिह साउँदले विद्यार्थी विरामी भएपछि कमजोरी भएको भन्दै माफी मागेको खड्काले बताए । खड्का सहितका स्थानीयले विद्यार्थी विरामी भएपछि प्रधानाध्यापक साउँदलाई गुनासो पोखेका थिए ।
अभिभावकले गुनासो पोखेपछि विहान विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले छलफल गरी आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिवद्धता गरेको छ । खड्का सहितका स्थानीयले चाना सडेको सम्बन्धि अनुसन्धान गर्न पर्ने बताएका छन् ।
विद्यार्थी विरामी भएपछि अभिभावकले भीमदत्त नगरपालिकाको युवा तथा शिक्षा शाखालाई पनि जानकारी दिएका छन् । शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले खाजा खाएपछि विद्यार्थी विरामी भएको जानकारी आएपछि प्रधानाध्यापकलाई सम्पर्क गरी जानकारी लिइएको बताए ।
‘विद्यार्थी विरामी भएको जानकारी आएको थियो, मैले तत्काल प्रधानाध्यापकलाई फोन गरी जानकारी लिए, त्यस क्रममा वहाँले गल्ती भयो भन्नु भएको छ’ उनले भने,‘अबदेखि यस्ता कमजोरी दोहोरिन्न भनेको छ ।’
विद्यालयका प्रधानाध्यापक साउँदले भने विद्यार्थी विरामी परेको विषयमा जानकारी लिन खोज्दा जसले सूचना दिएको त्यसैलाई सोध्नु भनेर जवाफ दिए । पत्रकार चन्द्रकान्त भट्टले उनलाई यस विषयमा जानकारीका लागि फोन गरेका थिए ।