ghar sansar

काँग्रेसमा जिल्ला सदस्य मनोनयनमा चर्को असन्तुष्टि

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला कार्य समिति सदस्य मनोनित गरिएपछि नेता कार्यकर्ता चर्को असन्तुष्टि पोखेका छन् । बिहीबार काँग्रेस जिल्ला सभापति पदम बोगटीको प्रस्तावमा १० सदस्य मनोनित गरिएका हुन् । काँग्रेस विधान अनुसार सभापति बोगटीले आफ्नो अधिकार प्रयोग गरी सदस्य मनोनितका लागि बैठकमा प्रस्ताव लगेका थिए ।

काँग्रेसको १४ औं महाधिवेशनबाट गत वर्ष बोगटी सभापति निर्वाचित भएका थिए । काँग्रेस विधानमा जिल्ला सभापतिलाई जिल्ला समितिमा सदस्य मनोनित गर्न पाउने अधिकार छ । बिहीबार काँग्रेस पार्टी कार्यालयमा बसेको बैठकमा कोषाध्यक्षमा पवन बिक्रम सिह र १० सदस्यीय मनोनित गरिएका थिए ।

सभापति बोगटीले सदस्य मनोनित गरेपछि काँग्रेस नेता कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकबाट सदस्य मनोनयनमा चर्को असन्तुष्टि पोखेका छन् । काँग्रेसका युवा नेता खेमराज ऐरी, तरुण दलका नेता उत्तम बोहरा लगायतले फेसबुकमा मनोनयन विरुद्ध असन्तुष्टि पोखेका छन् ।

काँग्रेस नेताहरुले सभापति बोगटीले आफू र गुट नजिकका नेतालाई मात्रै सदस्य मनोनित गरेपछि असन्तुष्टि बढेको बताए । ‘जिल्ला सदस्यमा धेरै साथीहरुको इच्छा थियो, पार्टीको विधान अनुसार सदस्य मनोनित गर्न पाउने अधिकार सभापतिज्यूलाई हौ, त्यसमा वहाँले सबैलाई मिलाएर जानु पर्ने थियो, त्यसो हुन सकेन’ उनले भने,‘आफू नजिक र गुटकालाई मात्रै सदस्य बनाएपछि असन्तुष्टि देखियो ।’

जिल्ला सभापति बोगटी नजिकका नेताहरुले भने उनले सबै क्षेत्र, लिङ्ग, भूगोल मिलाएर सदस्य मनोनयन गरिएको दावी गरे । ‘इच्छा राखेका सबैलाई मनोनित गर्न सकिएन, त्यसपछि असन्तुष्टि आउनु स्वभाविक हो’ बोगटी निकट एक नेताले भने,‘ठूलो पार्टीमा यस्तो भई रहन्छ ।’

काँग्रेस बैठकले तीन निर्वाचन क्षेत्रबाट एक महिला सहित ३ गरी १० जना सदस्य मनोनित गरेको छ । सदस्यमा गौराज बहादुर लिम्बु, प्रकाश जोशी लक्ष्मी भट्ट, मदन सुनार, पुष्पराज भट्ट, बीरसिह कार्की, रन्जु भट्ट, विजय सिह विष्ट, हर्कदेव जोशी र देवी लोहनी मनोनित भएका छन् ।

काँग्रेस जिल्ला सभापति बोगटी संस्थापनका हुन् । कञ्चनपुरमा काँग्रेस संस्थापनभित्र रमेश लेखक र एनपी साउँदका दुई अलग समूह छन् । साउँद समूहका बोगटी १४ औं महाधिवेशनेखि लेखक समूहमा छन् । काँग्रेसको संस्थापन इतर समूहका लेखक र साउँद समूहमा बाँडिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...