महेन्द्रनगर । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यसैगरी उदय नारायण गिरी समेतका ७ जना ज्येष्ठ नागरिकसहित हेमबहादुर लिम्बु सहितका ४८२ जनाको बाँकी कैद सजाय माफी भएको हो। संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन‚ २०६३ को दफा १२ बमोजिम उनीहरूको बाँकी कैद सजाय माफी भएको बताइएको छ ।
दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ। रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालक सहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । सबै तहका अदालतले उनलाई जन्मकैदको सजाय हुने फैसला गरेका थिए ।