महेन्द्रनगर । दुई साता अघि राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा साँघातिक आक्रमणमा परी घाइते भएका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाका परिवार न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।
एमाले पार्टी कार्यालयमा साउन २७ गते संघको अधिवेशनमा निर्वाचन समितिका सदस्य रहेका देवकोटालाई संघको कार्यकर्ताको एक समूहले साँघातिक आक्रमण गरेको थियो ।
देवकोटा परिवारले आक्रमणमा संलग्न ८ जना विरुद्ध कर्तव्य ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको थियो । किटानी जाहेरीमा परेकालाई प्रहरीले कारवाही गर्न नसकेको भन्दै देवकोटाकी आमा राष्ट्रिय मानव अधिकार आयोग गुहारेकी छन् ।
आयोगलाई दिइएको निवेदनमा न्याय नपाएको उल्लेख गर्दै न्यायका लागि पहल गरि दिन आग्रह गरेकी छन् ।
देवकोटाले प्रहरीमा किटानी जाहेरी दिँदा पनि आक्रमणमा संलग्नमाथि कारवाही नभएको र निर्वाध घुमि रहेका उल्लेख गरेकी छन् ।
वडा अध्यक्ष देवकोटामाथि आक्रमण भएको तीन दिनपछि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको थियो ।
किटानी जाहेरी परेकामध्ये ७ जनाले प्रहरीमा आत्मसपर्मण गरेपछि हिरासत पुगेका छन् । किटानी जाहेरी नपरेका अर्का एक युवक पनि उनीहरुसंगै हिरासतमा छन् ।
एमाले कञ्चनपुरले वडा अध्यक्ष देवकोटामाथि आक्रमण र संघको समानान्तर कमिटी बनाउने कार्यमा संलग्न सात जनालाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निस्काषित गरेको छ ।
यसैगरी युवा संघले पनि चार नेतालाई सदस्यता नरहने गरी निस्काषित गरेकोे छ ।
एमाले जिल्ला कमिटी सदस्य देवकोटा २०७९ को स्थानीय तह निर्वाचनमा भीनपा १८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।