
मुख्यमन्त्री भलिबल कप खेल्न विभागीय सहित ८ टीम महेन्द्रनगर पुगे, गण्डकी र लुम्बिनी पनि आजै राति पुग्ने
महेन्द्रनगर । खुला मञ्चमा आइतबारदेखि सुरु हुने तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सहभागी तीन विभागीय सहित ८ टीम महेन्द्रनगर पुगेका छन् । गण्डकी र लुम्बिनी बाहेक अन्य सबै टीम शनिबार साँझसम्म महेन्द्रनगर पुगेका हुन् ।
खुला मञ्चमा दिउँसो १ बजेदेखि प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम बनाइएको छ । कञ्चनपुर जिल्ला भलिब संघका सचिव उत्तम विष्टले गण्डकी र लुम्बिनीको टीम पनि रातिसम्म महेन्द्रनगर पुग्ने बताए ।

‘अहिलेसम्म गण्डकी र लुम्बिनी बाहेक अन्य सबै टीम पुगि सकेका छन्’ उनले भने,‘ती दुई टीम पनि रातिसम्म पुग्ने कुरा छ ।’
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विभागीय सहित सात प्रदेशका सात गरी १० टीम प्रतियोगितामा भाग लिन लागेका छन् । ती सबै टीमलाई होटेल ओपेरा र सिद्धार्थमा बसोबासको व्यवस्था गरिएको छ ।
सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघसित सहकार्य गरी प्रतियोगिता आयोजना गरेको हो । यस अघिका दुई प्रतियोगिता धनगढीमा भएका थिए ।
प्रतियोगिताको विजेता टिमलाई नगद ४ लाख, उप विजेता दुई लाख र तेस्रोलाई एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान पाउने छन् । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।
यसैगरी सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
