
महेन्द्रनगर । खुला मञ्चमा आइतबारदेखि सुरु तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन समारोह टिभी टुडेबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । सुदूरपश्चिम खेलकूद परिषद्ले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता उद्घाटन टिभी टुडेबाट गर्न लागिएको जानकारी दिएको छ ।
परिषद्का सदस्य सचिव दिपक बहादुर सिँहले टिभीले निःशुल्क रुपमा उद्घाटन समारोह प्रसारण गर्ने जानकारी दिए । ‘हामीले बाहिरका कुनै मिडियासित सम्झौता गरेका छैनौ, हाम्रो यतैको टिभी टुडेले पैसा विना भोलि उद्घाटन समारोह प्रसारण गर्ने कुरा छ’ उनले भने ।

पत्रकार सम्मेलनमा सहभागीहरुले स्थानीय मिडियालाई प्रतियोगितामा उपेक्षा गरिएको गुनासो गरेपछि सदस्य सचिव सिहले यस्तो जवाफ दिएका हुन् । उनले स्थानीय मिडियासितको सहकार्य र समन्वयलाई प्राथमिकता दिने बताए ।
कार्यक्रममा सदस्य सचिव सिहले आफू विगतमा पत्रकार भएको र आफूले कैलालीमा हिमाल अपी पत्रिका सञ्चालन गरेको पनि उल्लेख गरे । परराष्ट्र मन्त्री एनपी साउँदले आइबार दिउँसो प्रतियोगिता उद्घाटन गर्ने छन् ।
