
भीमदत्त नगरपालिका–४ मदन चोकस्थित रहेका २२ सटर २०७८ सालदेखि भत्काउन प्रयास एवम् पत्राचार गरिएपनि भत्काउन सकिएको थिएन । मदन चोकसँगै रहेका ती २२ सटर एसियाली विकास बैंक एडिबीको सहयोगमा भइरहेको सडक निर्माणमा बाधक देखिएपछि नगरपालिकाले ती सटर खालि गराउने प्रयास अहिले आएर सफल भएको छ । सटर खाली गराएसंगै अब एसियाली विकास बैंक एडिबीको सहयोगमा भइरहेको सडक निर्माणमा सहज रुपमा अगाडी बढने भएको छ । नगरपालिकाले पुरानो जिल्ला प्रशासन कार्यालय अगाडी रहेका खोका छाप्रा समेत हटाइएको छ । नगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यकरण गर्ने भन्दै त्यहा रहेका खोका छाप्रा पनि हटाएको छ ।
शहिद दशरथ चन्द चोक देखी डिभिजन बन कार्यालय सम्म सडक किनारमा रहेका खोका छाप्रा हटाएर उक्त क्षेत्रलाई सुन्दर र व्यवस्थित गर्ने कार्य भइरहेको छ । नियमित क्रियाकलाप बाहेक पालिकाले केही गर्न नसकेको जनगुनासो आइरहेको बेला भीमदत्त नगरपालिकाले ४१.६५ अंक प्राप्त गर्दै प्रथम भएको छ । जिल्लामा कार्यसम्पादन मुल्यांकनमा भीमदत्त नगरपालिका सबैभन्दा बढी अंक प्राप्त गर्दै प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी अंक भीमदत्त र कम अंक पुनर्वास नगरपालिकाले प्राप्त गरेको छ । एसियाली विकास बैंकको ग्रामीण सहरी विकास कार्यक्रमअन्तर्गत महेन्द्रनगर बजार क्षेत्रको सडक स्तरोन्नति भइ महेन्द्रनगर बजारका गल्लीहरू चौडा भइरहेका छन् ।
सडकको दुवैतर्फ साइकल लेन, फुटपाथदेखि जस्ता संरचना निर्माण भइरहेका छन् । तर विगतमा निवर्तमान नगरप्रमुखकै पालादेखि सुरु गरिएका यी कार्यले निरन्तरता मात्र पाएको छ र थप नया“ योजनाको सुरुवात हुन सकेको अवस्था छैन । एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने योजना जग्गा नपाएर फिर्ता भएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र मात्र नभएर सेफ हाउस पनि जग्गा नपाएर फिर्ता भएको छ । आएका योजनाहरुलाई समेत व्यवस्थापन गर्न नसक्नु दुखद पक्ष हो । फोहोरमैला व्यवस्थापन केन्द्र निर्मा हुन सकेको भए धेरै जनशक्तिले काम पाउने र फोहरबाट मोहर बनाउन सकिन्थ्यो । शुक्लाफाटा नगरपालिकाले हिम्मत गरेर फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण र सडकको स्तरोन्नति पनि गरेको छ ।
जनतासंग भोट माग्दा प्रतिवद्धता गरेको कुरो छाडा चौपायको व्यवस्थापन हो । दुई वर्षको कार्यकाल पुग्नै लाग्दा पनि यो काम हुन सकेको छैन । कहिले ८ नं. कहिले १३ नं. गर्दै अहिले १० नम्बर वडामा रहेको शान्ति सामुदायक वनको क्षेत्रलाई छाडा चौपायको व्यवस्थापन गर्ने भनिएको छ । छाडा चौपायको व्यवस्थापनका लागि विगतमा पनि ठूलो धनरासी खर्च गरिएको थियो तर त्यसको सदुपयोग हुन नसक्दा समस्या जहाको त्यहि छ । छाडा चौपाया व्यवस्थापन गर्ने भने पनि पूर्व–पश्चिम राजमार्ग, बजार क्षेत्रभरी नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ । पश्चिम गड्डाचौकीदेखि, सुकासाल, वनगाउँ, बसपार्कदेखि बजारका गल्लीर गाउ“का चोक चौराहरुमा जताततै छाडा चौपाया देखिन्छन् । राजमार्गमा छाडा पशुका कारण दैनिक दुर्घटना हुने गरेको छ । छाडा चौपायको व्यवस्थापनको नाममा जिल्ला भरीका स्थानीय तहहरुले करोडौ खर्च गरेपनि छाडा चौपायाको उचित र दिगो व्यवस्थापन गर्न सकेको छैनन् ।
