थरुहट आन्दोलनमा मारिएका प्रहरी निरीक्षक बोहराको स्मृतिमा सितोरियो कराँते प्रतियोगिता

महेन्द्रनगर । बेलौरी नगरपालिका वडा ६ मा घर भई नेपाल प्रहरीमा रहँदा टिकापुर घटनामा वीरगति प्राप्त प्रहरी नायव उपरीक्षक स्वर्गीय केशव बोहराको स्मृतिमा आउँदो बैशाख ४ गते क्षेत्र नम्बर १ स्तरीय सितोरियो कराँते प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।

शुक्रबार बेलौरीमा पत्रकार सम्मेलन गर्दै चैत्राष्टमीको अवसरमा बेलौरी नगरपालिका वडा नम्बर ६ वडा खेलकुद समितिको आयोजनामा बैशाख ४ गते कञ्चनपुर क्षेत्र नम्बर १ स्तरीय सितोरियो कराँते प्रतियोगिता गर्ने जानकारी दिइएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता गराइने वडा नम्बर ६ खेलकुद समितिका अध्यक्ष केशव बोहराले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रवेश शुल्क प्रति खेलाडी ३ सय तोकिएको छ । प्रथम र द्वितीय हुने खेलाडीलाई पुरस्कारका रूपमा आकर्षक शिल्ड र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

पत्रकार सम्मेलनमा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी, स्वर्गीय बोहराका बुवा प्रेम सिंह बोहरा, बेलौरी खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने लगायतको समेत उपस्थिति रहेको थियो ।

२०७२ साल भदौ ७ गतेका दिन सीमाङ्कनको विरोधमा आन्दोलनरत थरुहट।थारुवान् संयुक्त सङ्घर्ष समितिले कैलालीको टिकापुर स्थित सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो । तर, निषेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिंसात्मक बन्न पुगेको थियो ।

सोही घटनामा कर्तव्य पालनाको सिलसिलामा बोहरा पनि वीरगति प्राप्त गर्नुभएको हो । स्वर्गीय बोहराको स्मृतिमा विगतका वर्षदेखि नै वृक्षारोपण लगायतका कार्यक्रम हुँदै आएका छन् ।

सम्बन्धित
Loading...