

रनि विवश/रविन्द्र ओझा
महेन्द्रनगर । मिति : २०८२ जेठ १७ गते
स्थान : होटेल ओपेरा कञ्चन हल
समय : दिउँसो ४ ः०० बजे
कार्यक्रम : स्थानीय बाजाहरुको संरक्षण तथा संवद्र्धन कार्यक्रम
आयोजक : महाकाली साहित्य संगम
महाकाली साहित्य संगमका महासचिव वंशिधर जोशीले मञ्चमा गएर कार्यक्रम सुरु गरे । संगमका अध्यक्ष हरिश प्रसाद जोशीले अध्यक्षता, कृष्णदत्त चटौत कान्तले प्रमुख अतिथि, हिरा सिह भण्डारीले विशिष्ठ अतिथि सहित अन्यले आशन ग्रहण गरे ।
कार्यक्रम सुरु हुन अघिदेखि मञ्चमा केही मान्छे दमाहा बोकेर बसेका थिए । उनीहरु बडाई गर्नका लागि राखिएको थियो । आशन ग्रहणपिछि कार्यक्रम उद्घाटन गर्ने समय आयो ।
एकाएक मञ्चमा सगुन र फागको धुन बज्यो, बडाई सुरु भयो, त्यहीं बेला कार्यक्रमका प्रमुख अतिथि चटौतले बेकुल र विशिष्ठ अतिथि भण्डारीले भोकर बजाए । कार्यक्रम सञ्चालक जोशीले उद्घाटनका लागि यस अघि नै सबैलाई आग्रह गरि सकेका थिए ।
कार्यक्रम उद्घाटनको यो क्रम लगभग ५ मिनेट चल्यो । सहभागीहरु सबैले साथ लिए । उनीहरु आ आफ्नै सिटमा बसेर उद्घाटनलाई भव्य बनाउन लागेको देखिन्थ्यो । महाकाली साहित्य संगमले कार्यक्रम उद्घाटनको यो शैली बर्षौदेखि अपनाउँदै आएको छ ।
महाकाली साहित्य संगमका अध्यक्ष जोशीले फाग र सगुन मांगलिक धुनबाट संगमले आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
‘यो संगम २०४७ मा स्थापना भएको हो, त्यस यता हाम्रो उद्घाटन यस्तै धुनबाट हुन्छ’ उनले भने,‘फाग र सगुन मांगलिक धुन हो, यसबाट शुभ कामको सुरुवात गर्ने चलन छ ।’
उद्घाटनपछि कार्यक्रममा अन्य प्रस्तुति गरिए । ती सबै प्रस्तुति साहित्य, कला, संगित र भाषासंग सम्बन्धि थिए । कार्यक्रममा सबैभन्दा पहिलो प्रस्तुति भीमदत्त नगरपालिका २ का सुरेश चन्द ठकृुरीले राखे । उनले बाँसुरी बजाए ।
बाँसुरीको धुनले मञ्चका अतिथि र सहभागी सबैलाई आनन्द दियो । चन्द १२ बाँसुरी बोकेर आएका थिए । उनले आफूसित भएका फरक फरक बाँसुरी बजाए ।
बाँसुरीको महत्वबारे नयाँ पुस्तालाई जागरुक गराउन चन्दले प्रस्तुति गरेका थिए । ‘बाँसुरी बाजा हो, नयाँ पुस्तालाई बाँसुरीको पहिचान गराउन आवश्यक छ, त्यस कारण आज प्रस्तुति गरियो’ संगमका अध्यक्ष जोशीले भने,‘नयाँ पुस्ता यसबारे बेखखर छ ।’
संगमको पहलमा गत वर्ष नाट्य तथा संगित प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बाँसुरी सम्बन्धि प्रशिक्षण दिइएको थियो ।
‘बाँसुरी बाजा लोप हुने अवस्थामा भएकाले त्यसलाई जोगाउन प्रशिक्षण दिएका हौ’ अध्यक्ष जोशीले भने ।
चन्दपछि डोटीका तिलक बहादुर सिंह बिडई बजाउँदै मञ्चमा देखिए । थरी थरीका बिडई बोकेर मञ्चमा आएका उनले बिडईहरु बजाएर सहभागीहरुलाई मनोरञ्जन दिए ।
‘बिडई प्रायःलोप हुने अवस्थामा छ, अहिले बनाई दिने मान्छे पनि छैनन, बजाउने जान्ने पनि छैनन्’ अधयक्ष जोशी भन्छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लामा मनोरञ्जका साधनका रुपमा बिडई बजाउने गरिन्छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा दिनभरको थकान मार्न साँझपख खानाओरी घर परिवारमा बसेर गीत गाउने चलन छ । यसलाई सञ्झे गीत भनिन्छ । दार्चुलाका चन्द्र गिरीले सञ्झे गीत गाएर सहभागीहरुलाई मनोरञ्जन दिए ।

महाकाली साहित्य संगमका अध्यक्ष जोशीको ४० को दशकसम्म पहाडी जिल्लामा सञ्झे गीत सुनेको स्मरण गर्छन् ।
उनी २०४४ मा सालदेखि शिक्षण पेशामा लागेका हुन् । ‘दिनभरि काम गरि सकेपछि साँझको खाना खाइ सकेपछि यो गीत गाउने गरिन्थ्यो, ४०÷४२ सालसम्म गाउने सुनेको छु’ उनले भने,‘यो गीतबाट पारिवारिक संस्कार, नैतिक शिक्षा, एकता, संगित सबै मिल्थ्यो ।’
असारे गीत अर्थात भैन कार्यक्रमको अर्को आकर्षण प्रस्तुति बन्यो । भीमदत्त नगरपालिका १८ की निर्मला जोशीले भैन गाइन् । असार महिनाको रोपाईको बेलामा यो गीत गाउने गरिन्छ ।
‘धान रोपाई गर्दा अहिले पनि पहाडमा यो गीत गाईन्छ, धान रोप्ने रोपाहाराहरुले गाउने गर्छन्’ संगमका अध्यक्ष जोशीले भने,‘यो गीतमा हुड्को, ढोलक, दमाहा पनि बजाउने गरिन्छ, यो गीत गाएर रोपाई गर्दा राम्रो खेती हुने विश्वास गरिन्छ ।’
छलिया नृत्यले अतिथि र सहभागी सबैलाई आकर्षित गर्यो । कैलाश आउजी, सुरज आउजी, परि राम, दिलिप भट्ट र हजारी सिह पुजाराले छलिया नृत्य प्रस्तुत गरे ।
छलिया नृत्य सुदूरपश्चिमको चर्चित नृत्य हो । यो नृत्यमा शेरे आउजी र दिलिप भट्टले ठोक हाले । बाजाको तालमा छलिया नाच्ने नृत्य पछिल्लो समय व्यवसायिक रुपमा लिँदै गएको अध्यक्ष जोशीले बताए ।
‘यो बाजाको तालमा नाच्ने नृत्य हो, १२ जनासम्म यसमा सहभागी हुन्छन्’ उनले भने,‘यो नृत्य अहिले व्यवसायिक बनेको छ, छलिया टीम बनाइएको छ ।’
अहिले विवाह, पार्टी, विभिन्न कार्यक्रम, ब्रत बन्ध सबैमा छलिया नृत्य चर्चित बनेको उनी बताउँछन् ।
कार्यक्रममा सुदूरपश्चिमको प्रमुख डेउडा पनि खेलियो । डेउडामा सबै सहभागी भए । मनोरञ्जन भट्ट र संगम अध्यक्ष जोशी डेउडिया थिए । विभिन्न भाकामा डेउडा खेलेर कार्यक्रममा मनोरञ्जन लिइयो । ‘पहाडमा खेलिने डेउडा अहिले तराई क्षेत्रमा प्रख्यात छ’ अध्यक्ष जोशी भन्छन् ।
संगमका महासचिव बंशिधर जोशी डेढ पाइला खेलिने भएकाले यसलाई डेउडा भनिएको पछिल्लो समय अपभ्र्रं्रश भएर देउडा भन्ने गरिएको चिन्ता व्यक्त गरे ।
कार्यक्रममा अम्बादत्त जोशीले कविता र महाकाली साहित्य संगम बझाङ्गका अध्यक्ष शैलेन्द्र बहादुर सिहले गजन सुनाए । दृष्टिविहिन शिक्षक जोशीले प्यारो सुदूरपश्चिम शीर्षकको कविता वाचन गरे ।
चन्द्रा ऐरको ठाडो भाका र लक्ष्मी धामीको डोट्यालीले गीतले कार्यक्रममा रोमाञ्चकता थप्यो ।
विभिन्न प्रस्तुतिछि कार्यक्रममा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपालदत्त जोशी सहित विशिष्ठ र प्रमुख अतिथिले शुभकामना आदानप्रदान गरे ।
सामाजिक विकास कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो । संगमका अध्यक्ष जोशीले स्थानीय बजा लोप हुने अवस्थामा पुगेकाले सरक्षण र संवद्र्धनका लागि कार्यक्रम गरिएको बताए ।
संगमले लोक बाजाको संरक्षणका लागि संकलन गर्दै आएको छ । बाजा संरक्षणका लागि संगममा कला केन्द्र स्थापना गरिएको छ ।
त्यहाँ विभिन्न थरीका बाजा राखिएका छन् । अध्यक्ष जोशीका अनुसार हालसम्म २५ थरीका बाजा संकलन गरिएका छन् । ती बाजालाई विभिन्न कार्यक्रममा प्रस्तुत गरी प्रचारप्रसार हुँदै आएको अध्यक्ष जोशीले बताए ।
साहित्यकार एबम् राजनीतिज्ञ प्रेम सिह धामीको अध्यक्षतामा २०४७ मा महाकाली साहित्य संगम स्थापना गरिएको हो । संगमले भाषा, साहित्य, कला र संस्कृति संरक्षणका कार्यक्रम गर्दै आएको छ ।
महाकाली साहित्य संगम महाकाली अञ्चलको नामबाट नभई महाकाली नदीको नामबाट राखिएको हो, किनकी महाकाली नदीजस्तै पवित्र लक्ष्य गर्ने उद्देश्य हो’ अध्यक्ष जोशीले भने ।
सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनमा तीन तहका सरकारले अपेक्षित रुपमा ध्यान दिन नसकेको अध्यक्ष जोशीले बताए ।
संगमका महासचिव जोशीले स्थानीय सरकारले स्थानीय भाषा, संस्कृति, कला र संस्कृति जोगाउन तुरुन्त पहल गर्न पर्ने आवश्यकता औंल्याए ।
‘यसमा ढिलाई भयो भने यसको अपेक्षित र द्रुत विकास हुन सक्दैन’ उनले भने ।
