

महेन्द्रनगर । नेपाली काँग्रेसले बैतडीका महासमिति सदस्य उत्तरबहादुर ऐर र जिल्ला कार्यसमिति सदस्य विरेन्द्र बहादुर ऐरलाई पार्टीबाट कारबाही गरेको छ ।

पार्टीको आचरण, अनुशासन र विधान विपरीत गतिविधि गर्दै कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दको विरोधमा लागेर अन्य दलका उम्मेदवारका पक्षमा मत मागेको आरोपमा उनीहरूलाई कारबाही गरिएको कांग्रेस बैतडीले जनाएको छ । कारबाहीमा परेका दुवै जना दाजुभाइ हुन् ।
कांग्रेस बैतडीका जिल्ला अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार दुवैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निष्कासित गरिएको हो ।
उनीहरूले पार्टीविरुद्ध गतिविधि गरेको प्रमाणका रूपमा दुवै जनाको अडियोसमेत सुरक्षित राखिएको जोशीले बताए ।
