

महेन्द्रनगर । शुक्लाफाटा नगरपालिका ५ खजुवाकी परुली लुहार श्रीमान काशीले नफर्किने गरी छाडेर गएपछि पुर्चाैडी नगरपालिका न्वादेउबाट तराई झरिन् ।
दुई छोरा र छोरी सहित तीन सन्तान बोकेर ल्याएकी उनले खजुवामा एक कट्टा जग्गा किनेर बसोबास गर्न थालिन् । ज्याला मजदुरी गरी सन्तान हुर्काइन् । छोरा छोरीको विहे गरिन् । पति वियोगको पीडा छोरा छोरी हुर्किएर विहे गरेपछि विस्तारै बिर्सदै गइन् ।
उनका दुई छोरा लक्ष्मण र जितमध्ये कान्छा जित भारत मद्रासमा काम गर्न गए । उनको बेदकोट सुन्दरपुरबाट विहे भयो । नाति जन्मियो । खुसीयाली हुनु पर्ने लुहार परिवारमा अचानक सन्नाटा छायो । नाति शारीरिक रुपमा अशक्त जस्ता देखिए । सन्तान प्राप्तिको खुसी हुनु पर्नेमा उल्टो चिन्ता थपियो ।
अहिले तिनै आयुश १६ वर्षका पुगे । बिहीबार साँझ उनी घरभित्र नाङ्गै सुतेको अवस्थामा थिए । उनी जन्मेपछि हालसम्म उठ्न सकेका छैनन् । लत्ता कपडा लगाई दिए फालि दिन्छन् । उनी हालसम्म आमा मात्रै भनेर बोल्न सकेका छन् । अरु शब्द बोलेका छैनन् ।
वनसमिति हुँदै पिपलाडी जाने सडक किनारमा गर्जमुनिसितै जोडिएको छ लुहार परिवारको घर । पाँच धुर जग्गामा काठको कच्ची घर । घर टायलले छाएको छ ।
बिहीबार उनकी कान्छी बुहारी रेखा घर बाहिर थिइन् । उनी कान्छा छोरा रमितलाई उपचारका लागि अस्पताल लगेर गएकी थिइन् । ९ वर्षका रमित घाँटी पिप बग्ने समस्याबाट पीडित छन् । बुहारी रेखा उनलाई बचाउन लागि परेकी छन् ।
रमित जन्मिएको वर्ष उनका बुवा जितुको मद्रासमा मृत्यु भएको थियो । उनको मृत्युपछि बुहारी रेखा पनि सहारा बिहीन हुन पुगिन् । सासु र बुहारी दुबैसित समान पीडा थपियो ।

जेठाको शारीरिक अवस्थाबाट आश गुमाई सकेका उनीहरुले कान्छामा भरोसा राखे । कान्छा रमित पनि घाँटी समस्याबाट पीडित भएर विरामी भएपछि सासु बुहारी दुबै अप्ठेरो अवस्थामा पुगेका छन् ।
‘पुुर्चौडी नकाली बिहे गरी आएको थिए, आए देखि यही बसे । मुले पालेको पाले ताले, श्रीमान पहाडमै बितेका हुन, एक कट्टा किने’ उनले भनिन्, ‘खोजेर खान त होला भनेर यहाँ आएको हो, यहाँ आएर त यसी ढप भै, कि लेखेर आइछु, लेखेर आएछु लेखेकै हुन्छ, भगवानसित रिस त आउँछ, आएर पनि के गरु उमेर शोक र रोगले यसी भई हाले ।’

बुहारीले पाउने भत्ताबाट कान्छा नाति रमितको उपचार खर्च गरि रहेको उनले बताइन् । उपचारका लागि हालसम्म सहयोग नपाएको उनी बताउँछिन् ।
कान्छालाई उपचारका लागि बुहारीले लगेपछि बुधबारदेखि उनी जेठाको हेरचाह गरि रहेकी छन् । ‘यो जन्मेदेखि नै यस्तो हो, उक्गाई सक्कुन कि बिसाइ सक्को, हगेको पुछ्छु कब ब आउने हुन्’ उनले भनिन् ।
आयुशलाई उपचारका लागि जितुले भारतको मद्रास, कोहलपुर, बरेलीसम्म लगेर उपचार गराएको थियो । उनको मृत्युपछि उपचारका लागि बाहिर लैजान सकिएको छैन ।
बुढेशकालमा आफूले जस्तो दुःख कसैलाई पनि नहोला भन्ने सोचेको उनी बताउँछिन् । ‘दःुख त दुःख इसा दुःख कसैलाई न होउन’ उनले आँखामा आँशु टिलपिलाउँदै भनिन् ।
बुहारी पनि पति पति वियोगको पीडामा परेपछि परुली झन विक्षिप्त भइन् । श्रीमान बितेपछि जिम्मेवारी आएकी रेखाले गाउँ घरमा मजदुरी गरी घर खर्च चलाउँदै आएकी छन् ।
माइतीबाट सहयोग पाउने आशमा छैनन् उनी । माइती पनि कमजोर अवस्थाका छन् । अहिले उनी छोराको उपचारका लागि सबैसित सहयोगको याचना गर्दै आएकी छन् ।
जितुको मृत्युपछि आफू समस्यामा परेको परुलीले बताइन् । ‘मागी बिहे नै गरेका हो, उतै मद्रास काम गथ्र्यो, उतै बितेको, उनले भनिन्, ‘ उ भएको भए यसि ढप मेरि कि हुने थिई ब ।’
जेठा आयुशले भोक प्यास लागे आमा मात्रै भन्ने गरेको उनले बताइन् । भन्छिन्, ‘आमा आमा मात्रै भन्छ,पानी तिस लागे कि भोक लाग्यो कि ।’
लुहार परिवारका छिमेकी पशुपति बोहराले परिवारको अप्ठेरो अवस्था देखेर दुःख लाग्ने गरेको बताइन् । बोहराका श्रीमान पनि टाउको दुःख्ने पीडाबाट पीडित छन् ।
‘हामीलाई देखेर त गट्टो लाग्दो छ, नराम्रो लाग्छ , आफू हम पनि तसाई छौ, सहयोग गर्ने अवस्था हाम्रो पनि छैन’ उनले भनिन् ।
परुली आफैं पनि एकल महिलाको भत्ता पाउँछिन् । घरमा पानीको नल समेत नभएकाले छिमेकसित पानी मागेर खान्छन् ।
‘घर बनाई दिए, पानीको नल हालि दिए, नातिको उपचाए गरि दिए हुन्थ्यो’ उनी भन्छिन् ।
