
दैजीका अशक्त र अनाथ कालु डगौराका लागि सामाजिक अभियन्ता धिरेन्द्र धामीले सञ्चालन गरेको अभियानमा विदेशबाट पनि साथ, दक्षिण कोरियाबाट भुवन थापाले पठाए ४९ हजार सहयोग

महेन्द्रनगर । सामाजिक अभियन्ता धिरेन्द्र सिंह धामीले बेदकोट नगरपालिका ३ दैजीका अपाङ्गता भएका कालु डगौराका लागि सञ्चालन गरेको सहयोग अभियानमा विदेशबाट सहयोग आएको छ ।
आमा बुवा गुमाएपछि आफन्तको घरमा सहारा लिएका डगौराको सहयोगका लागि धामीले केही दिन अघि सामाजिक सञ्जालबाट सहयोग अभियान सञ्चालन गरेका थिए ।
धामीको अभियानमा विदेशमा भएका दैजीका स्थानीयले सहयोग जुटाएर सहयोग गर्न थालेका छन् । दक्षिण कोरिया पुगेका दैजीका भुवन थापाले सहयोग संकलन गरी बुधबार धामीलाई पठाएका छन् । धामीका अनुसार थापाले डगौराका लागि ४९ हजार आर्थिक सहयोग पठाएका छन् ।
विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट अशक्त र अनाथ डगौराका लागि सहयोग संकलन भएको थाह पाएपछि थापाले दक्षिण कोरियामा सहयोग संकलन गरी धामीलाई पठाएका हुन् ।
सामाजिक अभियन्ता धामीले थापालाई आभार व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिएका छन् । ‘विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र दुःखमा परेका भाइप्रति देखाउनु भएको माया, सद्भाव र मानवता साँच्चै प्रशंसनीय छ’ उनले भने, ‘भुवन थापा लगायत सम्पूर्ण सहयोगी साथीहरूलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

दैजीका स्थानीय अभियन्ता धामीले डगौराको आमा र बुवा दुबैको मृत्यु भएपछि उनका लागि सहयोग अभियान सञ्चालन गरेका छन् ।
दुई वर्ष अघि बुवा र त्यसपछि आमा पनि गुमाएका उनी आफन्तको घरमा बस्दै आएका छन् ।
डगौराका आफन्तको आर्थिक अवस्था कमजोर भएपछि धामीले उनको सहयोगका लागि अभियान सञ्चालन गरेका हुन् । अभियान सञ्चालन गरेपछि सहयोग आउन थालेको उनले बताए ।
बेदकोट नगरपालिका १० का हरिश भाटले सबैभन्दा पहिले सहयोग गरेका थिए । डगौरा बुवाको सवारी दुर्घटनामा परी बोल्न नसक्ने अवस्था भएका थिए ।
सहयोग अभियानमा हालसम्म भाट सहितले १३ हजार बढी सहयोग गरेका छन् । धामीका अनुसार हरिश भाट २ हजार १ सय, प्रमानन्द भट्ट १ हजार १ सय, भोगानन्द डगौरा १ हजार ५ सय ५, श्रीकोटी बन्धु जुत्ता उद्योग ५सय, हरि प्रसाद सुवेदी ५ सय, भुवन सिंह धामी १ हजार सहयोग गरेका छन् ।
यसैगरी धिरज ओड ५ सय, भिम भुल १ हजार ५ सय, धनिराम डगौरा १ हजार, पुस्कर भट्ट २ हजार र महेश महेश कुवर १ हजार ५ सय सहयोग गरेका छन् ।
धामीले सहयागी सबैलाई धन्यवाद दिएका छन् । ‘अपाङ्गता तथा अनाथ कालु डगौरा भाइको लागि आर्थिक सहयोग संकलन भइ रहेको छ, मनकारी सहयोग गर्नु हुने सबैलाइ नमन गर्न चाहन्छु’ उनले भने ।
