महेन्द्रनगर । संघीय चुनाव लड्न काँग्रेस छाडेकी अधिकारकर्मी शारदा चन्दले राजनीतिक दल सहित सबैसित भेटघाट तीव्र बनाएकी छन् । आगामी मंसिरमा हुने संघीय सँसदको निर्वाचनमा उनी कञ्चनपुर क्षेत्र नं. ३ बाट साँसद लड्ने तयारीमा छन् ।
संसद चुनाव लड्न अधिकारकर्मी चन्दले केही महिना अघिदेखि तयारी थालेकी हुन् । शुक्रबार काँग्रेस छाडेपछि उनले यस अघिको भेटघाट र छलफलमा व्यस्त भएकी छन् ।
अधिकारकर्मी चन्द सत्तारुढ काँग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका नेतासित भेटघाट गरी सहयोगका लागि आग्रह गरि रहेकी छन् । सबै दलका असन्तुष्ट नेता कार्यकर्तासित पनि चन्दले भेटघाट गरी सहयोगका लागि आग्रह गरेका छन् ।
राजनीतिक दल बाहेक पेशागत संघ संगठन, नागरिक समाज, अधिकारकर्मी, स्थानीय समूहसित अधिकारकर्मी चन्दले निरन्तर भेटघाट गरेकी छन् । काँग्रेस नेता गोपाल सिह गुरुङ्गसित चन्दले सोमबार भेटघाट गरी सहयोगका लागि आग्रह गरेकी छन् ।
काँग्रेस नेता गुरुङ्गले अधिकारकर्मी चन्दसित भेटघाट गरिएको तस्बिर फेसबुकबाट सार्वजनिक गर्दै चन्दको आग्रह अनुसार आफूले काँग्रेस भन्दा बाहिरको व्यक्तिलाई सहयोग गर्न नसकिने सुझाव दिएको फेसबुकमा उल्लेख गरेका छन् ।
‘लामो समय देखि सामाजिक सेवामा समर्पित बहिनी शारदा चन्दजी अचानक मेरो घरमा आउनु भयो, वहाँले आफूलाई आगामी आम निर्वाचनमा कञ्चनपुर ३ नम्बर बाट प्रतिनिधि सभामा मतदान गरी सहयोग गर्नु अनुरोध गर्नु भयो’ गुरुङ्गले भनेका छन्, ‘मैले वहाँलाई समाज सेवामा समर्पित भएकोले राजनीतिमा नलाग्नु भनीसुझाव दिएको र चुनावमा कांग्रेसको भन्दा बाहिरको व्यक्तिलाई सहयोग न हुने सुझाव दिएको छु ।’
अधिकारकर्मी चन्दले काँग्रेसभित्रका विकृति र विसंगति असह्य भएर पार्टी छाड्न बाध्य भएको काँग्रेस सभापति शेर बहादुर देउवालाई पठाएको जानकारी पत्रमा उल्लेख गरेकी छन् । सभापति देउवालाई नै पठाएको पत्रमा विकृति र विसंगति उल्लेख गरे पनि त्यसबारे थप केही बोलेकी छैनन् ।
‘काँग्रेसभित्र थुप्रै विकृति र विसंगति छन्, अहिले म भन्छिन्, मौका आउने बित्तिक्कै भन्छु’ अधिकारकर्मी चन्दले भनिन्,‘एक दिन म पक्कै भन्नेछु ।’
काँग्रेसको क्रियाशिल सदस्य हुँदै जिल्ला सदस्य भएर १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि भएकी चन्द काँग्रेसमा पूर्व मन्त्री रमेश लेखकको पक्षमा थिइन् । अहिले उनले लेखक विरुद्ध साँसद चुनाव लड्ने गरी पार्टी छाडेर तयारी अघि बढाएकी छन् ।
काँग्रेस केन्द्रीय सदस्य लेखक कञ्चनपुर क्षेत्र नं. ३ मा २०५६ देखि चुनाव लड्दै आएका छन् । उनले २०७४ बाहेक अन्य सबै निर्वाचन लडेका छन् । २०६४ मा समानुपातिक साँसद भएका उनी २०५६ र २०७० मा साँसदमा निर्वाचित भएका थिए ।
२०५६ मा चुनाव जितेका लेखक श्रम मन्त्री र भौतिक पूर्वाधार मन्त्री भइ सकेका छन् । २०७४ को निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवारसित २५८ मत अन्तरले चुनाव हारेका थिए । लेखक क्षेत्र नं ३ मा शक्तिशाली नेताका रुपमा परिचित छन् । यस पटक लेखक विरुद्ध उनकै पूर्व सहयोगी अधिकारकर्मी चन्द चुनावी मैदानमा आउन लागेकी छन् ।
अधिकारकर्मी चन्दले भीमदत्त नगरपालिका ५ वनखेतस्थित वृद्धाश्रम सञ्चालन गरी राष्ट्रिय स्तरसम्म पहिचान बनाएकी छन् । उनी हिंसा पीडित महिला, बालबालिका र विपन्न समुदायको हक अधिकारका लागि उनी अढाई दशक बढीदेखि सक्रिय छन् ।
‘२५÷२६ वर्षदेखि न्यायका लागि लड्दै आएकी छु, यो सबैलाई थाहा नै छ, यस पटक म सबैसित सहयोगका लागि पुगेकी छु’ अधिकारकर्मी चन्दले भनिन्,‘जे जति भेटे, सबैबाट सकारात्मक सल्लाह, सुझाव र सहयोगको आश्वासन पाए, म यसबाट अझै उत्साहित छु ।’
काँग्रेसमा आवद्ध भएर सबैको हक अधिकार र न्याय प्राप्तिका लागि लड्न नसकिने अवस्था भएपछि पार्टी छाडेर जनतासम्म आएको अधिकारकर्मी चन्दले बताइन् ।
‘मलाई अहिलेसम्म सबैको साथ सहयोगछ, यस पटक पनि म त्यहीं साथ सहयोग पाउने आशमा छु’ उनले भनिन्,‘म जनताको विश्वासमा कुनै पनि हालतमा विश्वासघात गर्न सक्दिन ।’