ghar sansar

पूर्व मन्त्री लेखक अहिले नै किन गए घरदैलोमा

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखकले घरदैलो अन्तिम चरणमा पुगाएका छन् । चुनाव घोषणापछि निर्वाचन क्षेत्र आएर घरदैलोमा निस्केका पूर्व मन्त्री लेखकले सोमबारसम्म दोधाारा चाँदनीका ८ वडामा घरदैलो गरेका छन् ।

मंगलबार(आज) ९ नम्बर वडामा लेखकले अन्तिम घरदैलो गर्न लागेका छन् । १ नम्बरमा काँग्रेस नेताको निधन भएपछि घरदैलो स्थगित गरिएको थियो । मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि लेखकले साउन २२ गतेदेखि दोधारा चाँदनी नगरपालिकामा घरदैलो गरेका हुन् ।

‘आज ९ नम्बरमा सकिएपछि ९ वडामा घरदैलो पूरा हुन्छ, १ नम्बरमा स्थगित भएको छ’ काँग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले भने,‘सबै वडामा वासिन्दासित भेटघाट गरियो, घरदैलो कार्यक्रम एकदमै उत्साहजनक रह्यो ।’

घरदैलोमा स्थानीयसित भेटघाट गरी उनीहरुको समस्याबारे जानकारी लिइएको र समाधानका लागि पहल गरिने क्षेत्रीय सभापति चन्दले बताए । ‘जनताबाट आएका समस्यालाई टिपोट गरिएको छ , सबै वडाबाट समस्या आएका छन्, तिनलाई समाधानका लागि पहल गर्छौ’ उनले भने ।

घरदैलोमा मन्त्री लेखक आफैंले स्थानीयसित समस्या सम्बन्धी सोधेर जानकारी लिएका छन् । घरदैलोमा सहभागी नेताहरुका अनुसार पूर्व मन्त्री लेखकले समस्यालाई आफ्नो डायरीमा टिपोट गरेका छन् ।

चुनाव घोषणापछि निर्वाचन क्षेत्रमा आएर प्रचारप्रसार थालेका लेखक यस पटक चुनाव जित्नै पर्ने मानसिक दबावमा छन् । कञ्चनपुर क्षेत्र नं. ३ मा बलियो नेताको पहिचान बनाएका उनी २०७४ को आम निर्वाचनमा नेकपा एमालेका डा. दिपक प्रसाद भट्टसित पराजित भएका थिए । त्यस अघि उनी २०५६ र २०७४ मा फराकिलो मत अन्तरले निर्वाचित भएका थिए ।

२०५६ मा पहिलो पटक आम निर्वाचन जितेपछि उनी २०६४ को पहिलो संविधान सभा सदस्य निर्वाचनमा समानुपातिक बसेका थिए । काँग्रेस सभापति प्रधानमन्त्री शेर बहादुर देउवाका लागि उनी आफू चुनाव नलडी समानुपातिक बसेका थिए । पहिलो र दोस्रो संविधान सभा सदस्य निर्वाचनमा यो क्षेत्र तत्कालिन क्षेत्र नं. ४ थियो ।

२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा फराकिलो मतले निर्वाचित लेखक चार वर्षको आम निर्वाचनमा पनि चुनाव जित्नेमा ढुक्क थिए । दोधारा चाँदनी क्षेत्रबाट अनपेक्षित नजिता आएपछि उनी पराजित हुन पुगेका थिए । दोधारा चाँदनी क्षेत्रबाट उनले १ सय ५० मत अन्तरले मात्रै अग्रता लिएका थिए ।

२०७४ को आम निर्वाचनको मत परिणामबाट झस्किएका लेखक यस पटक स्थानीय तह निर्वाचनदेखि आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय भएर लागेका छन् । स्थानीय तह निर्वाचनमा पनि उनी दुबै नगरपालिकाको चुनाव प्रचार सक्रिय भएका थिए । अहिले पनि चुनाव घोषणापछि निर्वाचन क्षेत्र आएर प्रचारप्रसार सक्रिय भई सकेका छन् ।

काँग्रेसका क्षेत्रीय सभापति चन्दले फराकिलो मत अन्तरले चुनाव जित्नका लागि पूर्व मन्त्री लेखकले तयारी थालेको बताए । ‘चुनाव जित्न त छँदैछ, फराकिलो मत अन्तरले जित्न चाहन्छौ, यस पटक १५ हजार भन्दा बढी मत अन्तरले जित्ने गरी अघि बढेका छौ’ उनले भने ।

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएकाले प्रतिनिधि सभा सदस्यमा लेखक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको पनि साथ पाउने भएका छन् । अघिल्लो निर्वाचनमा यी दुबैको साथ एमाले साँसद डा. भट्टलाई थियो । एमाले विभाजनपछि बनेको समाजवादी पनि अहिले सत्तारुढ गठबन्धनमा छ ।

पूर्व मन्त्री लेखकको घरदैलोमा काँग्रेस नेता, कार्यकर्ता, जनप्रतिनिधि सहभागी भएका छन् । काँग्रेसका पूर्व जिल्ला उप सभापति गोपाल सिह गुरुङ्ग सहित काँग्रेस संस्थापन इतरका नेता पनि घरदैलोमा सहभागी भएका छन् ।

काँग्रेसका जिल्ला उप सचिव नाफु सिह साउँद, क्षेत्रीय सभापति चन्द, प्रदेश सभापति पुस्कर जोशी, दोधारा चाँदनी नगरपालिका नगर सभापति राजेन्द्र मल्ल लगायतका नेताहरु घरदैलोमा दैनिक सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...