
महेन्द्रनगर । काँग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभ सदस्य निर्वाचनका लागि सञ्चालन गर्न लागेको जनताको साथ साथमा काँग्रेस अभियानका लागि केन्द्रीय सदस्यद्वय एनपी साउँद कैलाली र रमेश लेखक बैतडी प्रतिनिधि तोकिएका छन् । गृह जिल्लाका दुबै केन्द्रीय सदस्यद्वय बाहिर खटिएपछि कैलालीका रामजनम चौधरीलाई कञ्चनपुरको जिम्मेवारी पाएका छन् ।
काँग्रेसले भदौ १० गतेदेखि अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि केन्द्रीय सदस्यद्वय साउँद र लेखक सहित नेताहरु सबै जिल्लामा खटिएका छन् । सुदूरपश्चिमका जिम्मेवारी पाएका नेतामध्ये केन्द्रीय सदस्यद्वय साउँद र लेखकको काँग्रेसका नेता कार्यकर्ताको ध्यान तानेका छन् । कञ्चनपुरमा आ–आफ्नै उपगुट भएका संस्थानपका उनीहरु दुबै काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासिला हुन् । दुबै विश्वासिला नेतालाई सभापति देउवाले नजिक र टाढाको जिम्मेवारी दिएपछि उनीहरु पार्टीभित्र चर्चामा आएका छन् ।

सभापति देउवाले साँउदलाई पत्नि आरजु राणा चुनाव लड्ने जिल्लामा प्रतिनिधि बनाएका छन् । कैलालीमा काँग्रेस संस्थापनका जिल्ला नेतृत्व छ । लेखकलाई भने काँग्रेस संस्थापन इतर समूहको जिल्ला नेतृत्व भएको बैतडीमा जिम्मेवारी दिएका छन् । बैतडी लेखकको पुख्र्यौली जिल्ला हो । देउवाले सुदूरपश्चिममा राजनीतिक रुपमा बलियो मनिएको कैलालीमा साउँदलाई पठाएर पार्टीभित्र बलियो नेताका रुपमा चिनाउन खोजेका छन् ।
काँग्रेस नेताहरुले काँग्रेस १४ औं महाधिवेशनमा लेखकको भूमिका र कैलालीमा देउवा पत्निले चुनाव लड्ने भएकाले देउवाले साउँदलाई कैलालीको जिम्मा दिएको हुन सक्ने बताउँछन् । काँग्रेस १४ औं महाधिवेशनमा लेखकले बैतडीमा सस्थापक इतर समूहलाई सहयोग गरेपछि देउवा उनीसित असन्तुष्ट छन् । त्यहीं असन्तुष्टि फेर्न पनि देउवाले लेखकलाई बैतडी पठाएको हुन नसक्ने नेताहरुको आशंका छ ।
१४ औं महाधिवेशनमा लेखकले संस्थापन इतर समूहका चतुर बहादुर चन्दलाई जिल्ला सभापति बनाउन सहयोग गरेका थिए । उनले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुसित सहकार्य गरी चन्दलाई सभापति बनाएका हुन् । त्यसपछि देउवासित उनीसित असन्तुष्ट छन् । दार्चुलाका बडु काँग्रेस संस्थापन इतर समूहका हुन् । जिल्ला सभापति चन्दले स्थानीय तह निर्वाचनको उम्मेदवारीमा एक्लौटी गरेपछि देउवा थप असन्तुष्ट बनेको नेताहरु बताउँछन् ।
‘पार्टीले जिम्मेवारी दिने कुरा त भै हाल्यो, यसरी दुई केन्द्रीय सदस्यमा एउटालाई तराई यति ठूलो जिल्ला र अर्कोलाई पहाडतिर पठाउँदा किन यस्तो गरियो भन्ने आशंका त भै हाल्छ’ काँग्रेसका एक नेताले भने,‘यस पटक चाहिँ सभापतिज्यूले बडो कुटनीतिक रुपमा जिम्मेवारी दिएको छ ।’
कैलालीबाट काँग्रेस सभापति देउवाकी पत्नि आरजु राणा प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने तयारीमा छन् । २०७४ मा उनी एमालेका नारदमुनि रानासित पराजित भएकी थिइन् ।
काँग्रेस सभापति देउवाले लेखक सहित उनको समूहमा आएका पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशीलाई दार्चुला जिम्मेवारी दिएका छन् । काँग्रेस संस्थापन इतर समूहका जोशी पछिल्लो पटक लेखकसित छन् ।
काँग्रेस सभापति देउवाले यी दुई नेतालाई २०५१ को मध्यावधि निर्वाचनको टिकट वितरणदेखि टाढा र नजिक राख्दै आएका छन् । २०५१ को मध्यावधि निर्वाचनमा देउवाले साउँदलाई टिकट दिएपछि लेखक असन्तुष्ट भएका थिए ।
काँग्रेसका बागी उम्मेदवार मान बहादुर सुनार भन्दा कम मत ल्याएपछि साउँदले कञ्चनपुर क्षेत्र नं. ३ सदाका लागि छाडेका छन् । उनी अहिले कञ्चनपुर क्षेत्र नं. २ मा चुनाव लड्दै आएका छन् । साउँदले निर्वाचन क्षेत्र छाडेपछि २०६४ को संविधान सभा सदस्य निर्वाचन बाहेक सबै चुनाव लेखक लडेका छन् । २०५६ र २०७० को निर्वाचनमा लेखक कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।
२०६४ मा देउवाका लागि लेखकले समानुपातिक साँसद भएका थिए । देउवाले २०६४ मा लेखकको निर्वाचन लडेर उनलाई उम्मेवार हुन रोकि दिएका थिए । साउँदलाई भने निर्वाचन क्षेत्र नं. २ मा टिकट दिइएको थियो । उनी पराजित भएका थिए ।
अहिले पनि कञ्चनपुर क्षेत्र नं. ३ मा सभापति देउवा वा उनकी पत्नि आरजु चुनाव लड्ने चर्चा हुने गरेका छन् । काँग्रेस नेताहरु भने यसलाई हल्ला भएको बताउँछन् । स्थानीय तह निर्वाचनमा देउवा पत्नि राणाको निर्वाचन क्षेत्रमा अनपेक्षित नतिजा आएकाले कञ्चनपुर ३ लाई सुरक्षित क्षेत्रका रुपमा हेरिएको नेताहरु बताउँछन् ।
स्थानीय तह निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ को भीमदत्त नगरपालिकामा काँग्रेसले मेयर उप मेयर सहित अधिकाँश वडा जितेका छ । सभापति देउवाका नातेदार पदम बोगटी भीमदत्तको मेयर छन् ।
एनपी समूह छाडेर लेखक समूहमा आएपछि उनी काँग्रेसको जिल्ला सभापति र मेयर दुबै निर्वाचित भएका छन् । यस अघि एनपी समूहमा हुँदा उनी सभापति र मेयर दुबैमा पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा देउवा पत्नि राणा कञ्चनपुर प्रतिनिधि थिइन् ।
काँग्रेंसले बाजुरामा अर्जुनजंग बहादुर सिंह, बझाङमा गोविन्द बहादुर शाह, डोटीमा नृप बहादुर वड, अछाममा रण बहादुर रावल, दार्चुलामा यज्ञराज जोशी, बैतडीमा रमेश लेखक, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा रामजनम चौधरी र कैलालीमा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको हो ।
पहिलो चरणमा भदौ १० गतेदेखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।
काँग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रममा सहभागी हुनु पर्नेछ ।
