महेन्द्रनगर । नेकपा (एमाले ) कञ्चनपुरका जिल्ला सल्लाहकार परिषदका सदस्य एवम् पूर्व वडा अध्यक्ष किसन सिह घडेरीको निधन भएको छ । भीमदत्त नगरपालिका १५ का ८६ वर्षिय घडेरीको आफ्नै निवासमा बुधबार विहान निधन भएको हो ।
एमालेमा नेता कार्यकर्तालाई सधैं सल्लाह सुझाव दिने र पदका लागि मतलब नगर्ने नेताका छवि बनाएका छन् । प्रजातन्त्र पुनःवहाली भएपछि २०४९ को पहिलो स्थानीय तह निर्वाचनमा घडेरीले भीनपा १५ को वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि सबै निर्वाचनमा लगातार चुनाव जित्दै आएको वडालाई एमालेले २०७० को स्थानी तह निर्वाचनमा गुमाएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कृपाराम रानाले घडेरीलाई पार्टीको विचार, संगठन, विधि र कार्यक्रमप्रति प्रतिवद्ध नेता असल व्यक्तित्वको नेता भएको बताए । ‘कहिले पनि रतिभर बिचलन नहुने, सतीसाल जस्तै टिङ्ग उभिदै एक प्रतिबद्ध असल व्याक्तित्व कमरेड किसन सिंह घडेरीको असामयिक निधनले दुःखी बनाएको छ’ उनले भने ।
स्वर्गिय घरेडीको शवलाई श्रद्धाञ्जीका लागि एमालेको पार्टी कार्यालय मदन आश्रित सदनमा राखिएको छ । घरेडीको आज महाकाली नदीमा अन्तिम संस्कार गरिनेछ ।