
भीमदत्तमा मेयरका निजी चालकलाई नगरपालिका कार्यालयबाट तलब
प्रवक्ता भन्छन्– जेठ २४ गतेसम्म कर्मचारी थिए, अहिले छैनन्


महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको निजी गाडीका चालक वसन्त विष्टले नगरपालिका कार्यालयबाट तलब खाएका छन् ।
मेयर बोगटीले पदभार सम्हालेपछि सरकारी गाडी नचढने घोषणा गरी आफ्नै निजी गाडी प्रयोग गर्दै आएका छन् । विष्टले मेयर बोगटीले प्रयोग गर्दै आएको निजी गाडी चलाउने गरेका छन् ।

मेयर बोगटीले पदभार ग्रहण गरेको अर्को दिनदेखि असार मसान्तसम्म विष्टले तलब खाएका छन् । मेयर बोगटीले २०७९ जेठ पदभार पदभार ग्रहण गरेका थिए ।
नगरपालिका स्रोतका अनुसार मेयरका निजी गाडी चालक विष्टलाई अघिल्लो कार्यकालका उप मेयर सुशिला चन्द सिंहले प्रयोग गर्दै आएको गाडीको चालक राखेर तलब खुवाइएको छ । मेयर बोगटीले सरकारी गाडी प्रयोग नगरेपछि मेयरले प्रयोग गर्दै आएको गाडी उप मेयर र उप मेयरको गाडी कार्यालय प्रमुखले प्रयोग गर्दै आएका छन् ।
नगरपालिकाका ती सबै गाडीमा यस अघिदेखि चालक कार्यरत छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले कार्यालयको आवश्यकताका आधारमा चालक राखिएको र अहिले हटाइएको बताए ।

‘त्यो बेला चाहिएकाले राखिएको हो, नगरपालिकाको गाडी चलाएको हो,’ उनले भने,‘असार २४ गतेसम्मका लागि हो, अहिले कर्मचारी छैनन् ।’
मेयर बोगटीले नगरपालिकाको गाडी प्रयोग नगर्ने घोषणा गरेको सार्वजनिक भएपछि उनी आफैैंले भने त्यसको बचाउ गरेका थिए । उनले गाडी प्रयोग नगर्ने भनेर बाहिर आएको कुरा सत्य नभएको बताएका थिए ।
नगरपालिका कार्यालयका अनुसार जेठ १० गते चालक विष्ट सहित तीन जनालाई असार २४ गतेसम्मका लागि नियुक्ति दिइएको छ । उनीहरुमा मेयरको सहयोगीमा उत्तम कुँबर र उप मेयरको सहयोगीमा कमला साउँदलाई राखिएको छ ।
मेयर बोगटीका निजी चालकले नगरपालिकाबाट तलब खाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले यस सम्बन्धी जानकारी दिन नगरपालिकालाई पत्र पठाएको छ ।
भीमदत्त नगरपालिकाले ज्यालादारीमा कर्मचारी राखेको विषयमा उजुरी परेपछि त्यससँग सम्बन्धित विवरण नगरपालिकासँग माग गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी नारायण प्रसाद ढकालले बताए ।
साउन ३० गते पत्र पठाएको उनले बताए । ‘कर्मचारी दरबन्दीको विवरण लगायत ज्यालादारीमा कर्मचारी राख्दा गरिएका नीतिगत निर्णय माग गरेका छौं,’ उनले भने, ‘त्यसको जवाफ नगरपालिकाले पठाएको छैन ।’
