
महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १४ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार निरञ्जन प्रसाद भट्ट समूहले उम्मेदवारी घोषणा गरेको छ । संघका अध्यक्ष प्रेमप्रकाश भट्ट सहित पूर्व अध्यक्षहरुको सहभागितामा पत्रकार सम्मेलन गरी भट्ट समूहले उम्मेदवारी घोषणा गरेको हो । उम्मेदवारी घोषणा सभामा संघका अधिकाँश सबै पूर्व अध्यक्ष सहभागी भएका छन् ।
संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठीले भट्ट प्यानलका उम्मेदवारको नामावली घोषणा गरेका हुन् । भट्ट प्यालनबाट संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बहादुर चन्द, उपाध्यक्ष देब बहादुर चन्द, महासचिव योगेन्द्र ठकुराठी, सचिव हेम महरा, कोषाध्यक्ष दिपक भट्ट र सह कोषाध्यक्षमा विष्णु बहादुर सिह उम्मेदवार भएका छन् ।
उनीहरुमध्ये अध्यक्षका उम्मेदवार भट्ट संघको १३ औं कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन् । उनी यस अघि अध्यक्षमा दुई पटक चुनाव लडेर झिनो मत अन्तरले पराजित भएका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द वर्तमान समितिमा महासचिव छन् । यसैगरी महासचिव ठकुराठी सचिव, सह कोषाध्यक्ष सिह सह कोषाध्यक्ष नै छन् । उपाध्यक्ष चन्द र भट्ट वर्तमान समितिमा सदस्य र महरा पूर्व सदस्य हुन् ।
उम्मेदवारी घोषणा गर्दै पूर्व अध्यक्ष ठकुराठीले संघलाई १४ औं अधिवेशनलाई सर्वसम्मत बनाउने छलफल निष्कर्षमा पुग्न नसकेपछि उम्मेदवारी घोषण गरिएको बताए । ‘सिनियर टीमले १४ औं निर्वाचनलाई सहमतिमा लैजान धेरै प्रयास ग¥यो, केही सफलता मिलेन’ उनले भने,‘त्यसपछि यो टीम घोषणा गरी अघि बढेका छौ ।’
संघका संस्थापक सदस्य ठकुराठीले सहमतिका आधारमा संघको दुई कार्यकाल अध्यक्ष भएका थिए । स्वर्गिय शंकरदत्त जोशीको अध्यक्षतामा तदर्थ समिति गठन गरी २०४७ मा संघ गठन गरिएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष ठकुराठीले निर्माण व्यवसायलाई मर्यादित बनाउन संघका आगामी नेतृत्वले ध्यान दिने अपेक्षा राखे । ‘अहिले पेशालाई मर्यादित बनाउन चुकेका छौ, यस्तो विकृति आएको छ की भनेर साध्य छैन’ उनले भने,‘यसमा गम्भीर हुन जरुरी छ ।’
कार्यक्रममा संघका पूर्व अध्यक्ष धर्मानन्द भट्टले भट्ट नेतृत्वको प्यानललाई जितका लागि शुभकामना र बधाई दिदैं निर्वाचित भएपछि केही न केही गरेर देखाउनु पर्ने विश्वास राखिएको बताए । ‘चुनाव जितेपछि केही न केही गर्नु होला भन्ने विश्वास लिएको छु, यो विश्वासलाई कायम राख्नु होला’ उनले भने ।
संघका पूर्व महासचिव गजेन्द्र बिक्रम थापाले संघलाई बलियो बनाउन र व्यवसायी हकहितका लागि काम गर्नका लागि सहयोग गरिएको उल्लेख गर्दै चुनावमा जित निश्चित हुने बताए । ‘राम्रो गर्नलाई सहयोग गरि रहेका छौ, राम्रो गरेपछि सहयोग गरौला, नगरेपछि विरोध गर्न त छँदैछ’ उनले भने ।
संघका अध्यक्ष प्रेम प्रकाश भट्टले सबै अग्रज व्यवसायीको सल्लाह अनुसार सहयोग गरिएको उल्लेख गर्दै संघको हकहितका लागि सधैं सक्रिय भएर लाग्नु पर्ने बताए । ‘त्यहाँ गएपछि लिनु पर्ने केही छैन, संघका लागि काम गर्नु पर्ने हो, सबै वहाँहरु सिनियरले भनेपछि समर्थन गरेका छौ’ उनले भने ।
संघको १४ औं अधिवेशनलाई सहमति गराउन छलफल गरिए पनि टुङ्गो पुग्न नसकिएको र अझै सहमतिका लागि प्रयास गरिने उनले बताए । ‘अझै सहमतिको प्रयास गर्छौ, सहमतिका बाटो खुला नै छन्’ उनले भने ।
अध्यक्षका उम्मेदवार भट्टले निर्माण व्यवसायी संघ र व्यवसायी हकहितका लागि आफू सधैं सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
‘व्यवसायीका समस्या के कस्ता छन्, कसरी हल गर्न सकिन्छ, कुन ठाउँमा गएर सकिन्छ, त्यहीं जान्छु, हकहितका लागि सधैं लागि रहन्छु’ उनले भने,‘व्यवसायी हकहित कसरी हुने हो म त्यसैमा लाग्छु ।’
अढाई दशकदेखि निर्माण व्यवसाय क्षेत्रमा सक्रिय भट्ट यस अघि १२ औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष भएका थिए । त्यस अघि उनी २०६१ मा संघको सदस्य सदस्य भएका थिए । उनी सामाजिक क्षेत्रमा सक्रिय छन् ।
कार्यक्रममा संघका अध्यक्ष भट्ट सहित पूर्व अध्यक्षहरु लोक बहादुर ठकुराठी, धर्मानन्द भट्ट, लक्ष्मीदत्त भट्ट, भुवन भट्ट, प्रेम सिह भण्डारी, रामदत्त लेखक सहभागी भएका छन् ।
