
दलित समुदायका महिलाको पुजापाठ नगर्ने पुजारी पक्राउ परेपछि ब्राह्मण समुदाय उत्रियो विरोधमा, मदनचोकमा मौन विरोध प्रदर्शन

महेन्द्रनगर । महाकाली नदीको भुजेला घाटमा दलित समुदायका ब्रतालु महिलाको पुजापाठ गर्न अस्वीकार गर्ने पुजारी सहदेब भट्टलाई प्रहरीले पक्राउ गरेपछि ब्राह्मण समुदायका अगुवा विरोधमा उत्रिएका छन् । उनीहरुले मंगलबार महेन्द्रनगरस्थित मदनचोकमा भेला भएर मौन विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनमा आचार्य घनश्याम लेखक सहित ब्राह्मण समुदायका अगुवा सहभागी भएका छन् । उनीहरुले सरकार र गैर सरकारी निकायले ब्राह्मणमाथि विभेद विरुद्ध विरोधमा बसेको बताएका छन् । उनी मदनचोकमा विरोध स्वरुप मौन धर्नामा बसेका छन् ।

ऋषि पञ्चमीका दिन भुजेला घाटमा थर थाहा पाएपछि पुजापाठ गर्न अस्वीकार गरेपछि आफूमाथि सार्वजनिक स्थानमा जातीय भेदभाव गरिएको भन्दै भीमदत्त नगरपालिका ५ की सन्जु नेपाली लगायतले आइतबार जिल्ला प्रहरी कार्यालयमा पुजारी भट्ट विरुद्ध जाहेरी दिएका थिए । प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि पुजारी भट्टलाई पक्राउ गरिएको छ ।
जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन पीडित सहित दलित समुदायका अगुवा पुगेका थिए ।
