ghar sansar

महाकाली विभेद प्रकरण : प्रहरी हिरासतमा राखिएका पुजारीलाई छाड्न माग गर्दै मौन जुलुश प्रदर्शन, आन्दोलनका लागि संघर्ष समिति गठन

महेन्द्रनगर । प्रहरी हिरासतमा राखिएका पुजारी छुटाउन ब्राह्मण समाजले महेन्द्रनगरमा मौन जुलुश निकालेको छ । शिवधाम क्षेत्रमा भेला भएर संघर्ष गठन गरेपछि बजार क्षेत्रमा जुलुश निकालिएको छ ।

शिवधाम क्षेत्रमा गरिएको भेलाबाट दीर्घराज भट्टको अगुवाईमा संघर्ष समिति गठन गरिएको छ । समिति गठन गरिएपछि शिवधाम क्षेत्रबाट मौन जुलुश निकालेर मदनचोकमा समापन गरिएको छ ।

mahostaw

संघर्ष समितिका संयोजक भट्टले प्रहरी हिरासतमा रहेका पुजारी सहदेब भट्टलाई सम्मान रिहा गरिनु पर्ने माग राख्दै मौन जुलुश प्रदर्शन गरिएको बताए ।

‘शिवधाम क्षेत्रमा भेला भएर मेरो नेतृत्वमा संघर्ष समिति बनेको छ, त्यसपछि हिरासतमा रहेका निर्दोष ब्राह्मणलाई सम्मान रिहा गर्नका लागि दबाव दिन जुलुश निकालिएको छ’ उनले भने ।

ऋषि पञ्चमीका दिन भुजेला घाटमा दलित समुदायका ब्रतालु महिलाहरुको पुजापाठ गर्न अस्वीकार गरेपछि पुजारी भट्ट विरुद्ध जातीय भेदभाव तथा छुवाछुत अपराध मुद्दामा जाहेरी दर्ता भएको थियो ।

जाहेरी दर्ता भएपछि पक्राउ परेका भट्टमाथि अनुसन्धान अघि बढाएको छ । ब्राह्मण समुदायले भट्ट पक्राउ परेपछि केही दिन मदनचोकमा मौन विरोध प्रदर्शन गरेको थियो ।

भीमदत्त नगरपालिका ५ की सन्जु नेपाली लगायतले सार्वजनिक स्थानमा आफूहरुमाथि विभेद गरेको भन्दै पुजारी भट्ट विरुद्ध जाहेरी दिएका हुन् । उनीहरुले हिरासतमा रहेका भट्टले आफूहरुमाथि गरिएको विभेदको भिडियो समेत प्रहरीलाई बुझाएका छन् ।

पुजारी भट्टमाथि जातीय भेदभाव तथा छुवाछुत (सजाय र कसुर ) ऐन २०६८ अनुसार जोहरी दर्ता गरिएको छ । ऐन अनुसार कसुर प्रमाणित भएमा उनीमाथि बढीमा तीन हजार जरिवना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

ब्राह्मण समुदायले भने पुजारी भट्टलाई सुनियिोजित तरिकाले फसाएकाले ससम्मान रिहा गरिनु पर्ने माग अघि सारेको छ । पुजारी रिहाईका लागि गठन गरिएको संघर्ष समितिका संयोजक भट्टले नियोजित रुपमा फसाइएकाले ससम्मान रिहा गरिनु पर्ने बताए ।

‘हिन्दू धर्म इतरका केहीले पुजारीलाई सुनियोजित तरीकाले फसाइएको छ’ उनले भने,‘त्यसैले हामी यसको विरोधमा छौ ।’

Himal dental
सम्बन्धित
Loading...