शुक्लाफाँटामा गरीब विद्यार्थीलाई चिकित्सा र इन्जिनियरिङ्ग पढ्न छात्रबृत्ति

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा कमजोर आर्थिक अवस्थाका जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि नगरपालिकाबाट सहयोग पाउने भएका छन् । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षदेखि चिकित्सा र इन्जिनियरिङ्ग अध्ययनका लागि दुई जनालाई छात्रबृत्ति दिन लागिएको हो । त्यसबाट नगर सभाबाट नीतिगत निर्णय पारित गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले चिकित्सा र इन्जिनियरिङ्ग अध्ययनका लागि एक÷एक जनालाई छात्रबृत्ति दिने निर्णय नगर सभाबाट पारित गरिएको बताए ।

deepak

‘यस नगरपालिका क्षेत्रभित्रका गरीब, आर्थिक रुपमा विपन्न र जेहेन्दार एक÷एक जना विद्यार्थीलाई इन्जिनियरिङ्ग र चिकित्सा शास्त्र अध्ययनका लागि छात्रबृत्ति दिन्छौ’ उनले भने,‘यो निर्णय नगर सभाबाट गरिएको छ, अब यसको कार्यान्वयन प्रक्रियामा जान्छौ ।’

शुक्लाफाँटा नगरपालिकाको नगर सभाबाट चिकित्सा शास्त्रका विद्यार्थीलाई १० लाख र इन्जिनियरिङ्गमा ५ लाख दिने निर्णय गरिएको छ । गत असारमा नगर सभा गरिएको थियो ।

‘शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने अधिकाँश वासिन्दाको आर्थिक अवस्था कमजोर छ, कृषि पेशामा निर्भर छन्, आर्थिक अभावका कारण चाहेर पनि छोरा छोरीलाई प्राविधिक शिक्षा पढाउन सक्ने अवस्था छैन’ मेयर महराले भने,‘यसबाट थोरै भए पनि सहयोग हुन्छ, पढ्नलाई प्रोत्साहन पुग्छ भनेर छात्रबृत्ति दिने कार्यक्रम ल्याइएको छ ।’

मेयर महराले केही दिन अघि नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको एक सय दिनको उपलब्धिमा पनि यसलाई समावेश गरिएको छ । एक सय दिनको उपलब्धि अन्र्तगत सामाजिक विकास क्षेत्र अन्र्तगत शैक्षिक क्षेत्रमा ६ उपलब्धिमा यसलाई पनि समावेश गरिएको छ ।

स्थानीय तह निर्वाचनमा कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृत्ति दिने मेयर महराको चुनावी प्रतिवद्धता थियो । चुनावमा निर्वाचित भएपछि उनले पहिलो नगर सभाबाट चिकित्सा र इन्जिनियरिङ्ग अध्ययनका लागि छात्रबृत्ति दिने निर्णय गरेका छन् ।

नगरपालिकाले नगर सभाको निर्णय कार्यान्वयनका लागि मापदण्ड बनाएर अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

‘नगर सभाबाट छात्रबृत्ति दिने नीतिगत निर्णय भई सकेको छ, अब यसका लागि मापदण्ड बनाउँछौ, त्यही मापदण्डका आधारमा विद्यार्थी छनौट गरी छात्रबृत्ति रकम सहयोग गर्छौ’ उनले भने ।

९ स्थानीय तहमा शुक्लाफाँटा नगरपालिकाले मात्रै कमजोर अवस्थाका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृत्ति दिने निर्णय गरेको हो । यो निर्णयपछि मेयर महरा चौतर्फी प्रशंसा पाएका छन् ।

‘मेयर सापको यो निर्णय शैक्षिक क्षेत्रका लागि धेरै ठूलो महत्व छ, अन्य पालिकाले पनि अनुकरण गर्न सक्छन्’ प्रमुख प्रशासकीय अधिकृत भट्टले भने,‘शुक्लाफाँटाको प्राविधिक शिक्षामा यसले ठूलो उपलब्धि हासिल गर्छ, त्यसैले सबै नगरवासीका लागि राम्रो काम हो ।’

स्थानीय तह निर्वाचनमा मेयर महरा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । उनी अघिल्लो निर्वाचनमा पराजित थिए । एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य उनी एमालेमा हक्की र प्रष्ट स्वभाव भएका नेताका रुपमा परिचित छन् । उनी एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशन अघि जिल्ला उप सचिव थिए ।

सम्बन्धित
Loading...