महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले चुनावी प्रचारलाई आक्रामक बनाएका छन् । सत्ता गठबन्धनमा भागबण्डा सहमति नभएपछि समाजवादीबाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा आएका उनी अघिल्लो निर्वाचनको जित कायम राख्नु पर्ने दबावमा छन् ।
अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित उनी सत्ता गठबन्धनमा अन्तिममा उनको टिकट खोसिएको थियो । सत्ता गठबन्धनका काँग्रेस र माओवादी केन्द्रले समाजवादीलाई गठबन्धन बाहिर राखेर रावलको टिकट खोसेपछि उनी उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा आएका छन् ।
मन्त्री रावलले पाँच वर्षे कार्यकालमा थालनी गरेका कामलाई निरन्तरता दिन चुनावी मैदानमा आएको बताएका छन् । बेदकोट नगरपालिका ८ बाट चुनावी घरदैलो सुरु गरेका उनले सामािजक सञ्जालमा चुनावी अभियान व्यापक बनाएका छन् । स्थानीय तह निर्वाचनमा बेदकोट ८ समाजवादीले जितेको थियो ।
सामाजिक सञ्जालमा रावललाई विकासप्रेमी नेता भनेर मत समेत मागिएको छ । कञ्चनपुर ३ मा काँग्रेस र एमाले दुबै दलका उम्मेदवार नभएका कारण मन्त्री रावल सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका लागि भारी पर्न सक्ने अनुमान गर्न थालिएका छन् । उनले सुझावका लागि सबै मतदातामा सार्वजनिक रुपमा आव्हान गरि सकेका छन् ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्ट र एमाले राप्रपाबाट राप्रपाका धर्मराज जोशी उम्मेदवार भएका छन् । मन्त्री रावलले एमाले, माओवादी र काँग्रेस सहित सबै दलको मत तान्ने देखिएपछि उनी बलियो उम्मेदवारका रुपमा चर्चा हुन थालेका छन् ।
सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले उनलाई तीन पटक भेटेर आफूलाई सहयोगका लागि आग्रह गरि सकेका छन् । रावलले उनलाई आफू र माओवादी केन्द्रका उम्मेदवार भट्टलाई प्रचारमा नलैजान सुझाव दिएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा स्वतन्त्र उम्मेदवार सबैभन्दा बढी छन् । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी पनि प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार छन् ।