
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सद्भावना टोलमा अन्धाधुन्ध ग्राभेल हालिएपछि शनिबार स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले बाटो नक्साङ्कन समेत नगरी हचुवाका भरमा ग्राभेल फालि दिएको भन्दै आक्रोशित भएका छन् । स्थानीयका अनुसार बाटो समेत यकिन नगरी नगरपालिकाले टोलसित समन्वय नगरी ग्राभेल फालि लिएको छ ।
सद्भावना टोलका निर्वतमान अध्यक्षले केही दिन अघि नेपाली काँंग्रेसको टोली घरदैलो कार्यक्रममा आएको र स्थानीयले सडक ग्राभेलको माग गरेको बताए । ‘केही दिन अघि घरदैलोमा आउँदा स्थानीयले ग्राभेल मागेका रहेछन्’ उनले भने ‘चुनाव सुरु भएपछि आज ग्राभेल हालिएको छ ।’

बाटोको नक्साङ्कन नगरी ग्राभेल हाल्दा भन्दा निजी जमिनमा समेत फालिएपछि विवाद उब्जिएको छ । स्थानीयले विवाद गरेपछि जनप्रतिनिधि र राजनीतिक दलका नेता सद्भावना टोल पुगेका छन् ।
मतदातालाई प्रभावित पार्न ग्राभेल हालिएको विपक्षी दलको आरोप छ । नेकपा एमाले भीमदत्त १८ वडाध्यक्ष विवेक भट्टले नेपाली कांग्रेसले सत्ताको चरम दुरुपयोग गरिरहेृको बताए ।
उनले आसन्न निर्वाचनमा मत आफ्नो पक्षमा पार्न सत्ता दुरुपयोग गरि ग्राभेल फालिएको बताए । नेपाली काँग्रेसले कार्यकर्ता परिचालन गरि ग्राभेलसँग भोट साट्ने काम गरिरहेकोले त्यसमा निर्वाचन आयोगको ध्यानार्कषण हुनु पर्ने उनल बताए ।
नगरपाकिाले हालेको उक्त ग्राभेल परिचालन गर्ने जिम्मेवारीमा नेपाली कांग्रेस भीमदत्त नगर समिति सभापती अच्युत कलौनी देखिएका थिए ।
भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटाले पालिकाले वडासँग कुनै समन्वय नगरी मनोमानी रुपमा ग्राभेल हाल्ने काम भईरहेको बताए । शनिबार पनि नगरपालिकाले एकलौटी रुपमा ग्राभेल हालेको र विवाद सिर्जना भएपछि स्थानीयले आफूलाई खबर गरेपछि मात्रै जानकारी पाएको उनले बताए ।
