

केशब भट्टराई
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा कृषि तथा पशु विकासमा आधारित “आत्मनिर्भर पुनर्वास” कार्यक्रम सञ्चालनमा आएपछि करिब दुई हजार घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
झण्डै तीन वर्षअघि नगरपालिकाका ११ वटै वडामा ८० वटा महिला स्वावलम्बी समूह गठन गर्दै कृषि तथा पशुपालनलाई व्यावसायिक र आयआर्जनमुखी बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको थियो । यो सँगै पाँच जना युवालाई सामुदायिक कृषि तथा पशुसेवा उद्यमीका रूपमा छनोट गरी गाउँमै स्वरोजगार र सेवा विस्तारको जिम्मेवारी दिइयो ।

ती पाँच जना युवा उद्यमी मध्येका एक हुन् पुनर्वास नगरपालिका–२, अमरैयाका बासुदेब राना । केही वर्षअघि सम्म सीमित क्षेत्रमा पशुसेवा दिइरहेका बासुदेब आज पुनर्वास मात्र होइन, छिमेकी पालिकासम्म पुगेर किसानका पशुचौपायाको उपचार गरिरहेका छन् । उनको यो यात्राले गाउँमै बसेर पनि मेहनत र अवसरको सदुपयोग गरे सफल हुन सकिन्छ भन्ने सन्देश दिएको छ ।
बिहानको करिब आठ बजेको समय थियो । हामी बासुदेबलाई भेट्न उनको घर पुग्यौं । खाजा खाइसकेर दिनभरिका कामका लागि तयारी गरिरहेका उनी निकै उत्साही देखिन्थे । उमेर २७–२८ वर्ष पुगेका बासुदेबको अनुहारमा आत्मविश्वास झल्किन्थ्यो ।
झण्डै पाँच वर्षदेखि आफ्नै क्षेत्रमा भेटनरी सेवा दिँदै आएका उनी भन्छन्, पहिला आफ्नो वडाभित्र मात्रै काम गर्थें, अहिले आत्मनिर्भर पुनर्वास कार्यक्रमसँग जोडिएपछि पुनर्वासका सबै वडासँगै छिमेकी पालिकामा समेत सेवा दिन पुगिरहेको छु ।
हामीसँग कुराकानी गरिरहँदा करिब १५–२० मिनेटमै चार पटक उनको मोबाइल फोन बजिसकेको थियो । हरेक पटक उनी एउटै जवाफ दिन्थे, एकछिनमै आउँछु । उनको व्यस्तता देखेर हामीले पनि भन्यौं, हामी पनि तपाईंसँगै जान्छौं । हुन्छ, भन्दै उनी आफ्नो औषधि र आवश्यक उपकरण राखिएको झोला बोकेर घरबाट निस्किए ।

केही मिनेटको यात्रापछि हामी एउटा किसानको घर पुग्यौं । त्यहाँ बिरामी पशुको उपचार गरेपछि अर्को घरमा पुग्दा बंगुरको बन्ध्याकरण गर्नुपर्ने रहेछ । काम गर्दै गर्दा फेरि फोन आयो, अब विकास बस्ती पनि पुग्नु पर्ने भयो, उनले मुस्कुराउँदै भने । यसरी बासुदेबको दिनभरको अधिकांश समय गाउँ–गाउँ डुल्दै पशुचौपायाको उपचार, परामर्श र सेवा प्रवाहमै बित्ने गरेको छ ।
बासुदेबका अनुसार उनी दैनिक १५ देखि २० स्थानसम्म पुगेर सेवा दिन्छन् । दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्म आम्दानी हुन्छ । गाउँमै बसेर आफ्नै पेशाबाट परिवार चलाउन सकेको छु उनी भन्छन् । नेपालका हजारौं युवा रोजगारीको खोजीमा विदेशिइ रहेका बेला बासुदेबले भने आफ्नै गाउँमा अवसर खोजे । अहिले उनी आफूमात्र आत्मनिर्भर भएका छैनन्, किसानको भरोसाका पात्र पनि बनेका छन् ।
बासुदेब आफ्नो सफलताको श्रेय आत्मनिर्भर पुनर्वास कार्यक्रमलाई दिन्छन् । उनका अनुसार कार्यक्रम मार्फत विभिन्न प्राविधिक तालिममा सहभागी हुने अवसर मिल्यो। आवश्यक भेटनरी सामग्री र उपकरण उपलब्ध गराइएकाले फिल्डमा काम गर्न निकै सहज भएको छ । तालिमले ज्ञान बढायो, उपकरणले काम गर्न सजिलो बनायो । यही कार्यक्रमले मलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ, उनी भन्छन् ।
यद्यपि, कहिलेकाहीँ पशु उपचारमा आवश्यक पर्ने लिक्विड नाइट्रोजन सहज रूपमा उपलब्ध नहुँदा समस्या हुने गरेको उल्लेख गर्दै यसको व्यवस्थापनमा नगरपालिकाले थप ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् ।
बासुदेबका अनुसार आत्मनिर्भर पुनर्वास कार्यक्रम अन्तर्गत आबद्ध करिब दुई हजार घरधुरीका किसानलाई पशु उपचार सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइँदै आएको छ । यसबाट किसानको उपचार खर्च घट्नुका साथै समयमै सेवा पाउने वातावरण बनेको छ ।
आत्मनिर्भर पुनर्वास कार्यक्रमले केवल कृषि र पशुपालनको उत्पादन वृद्धि मात्र गरेको छैन, गाउँमै रोजगारी सिर्जना गर्दै युवालाई उद्यमशीलतासँग पनि जोडेको छ । बासुदेब रानाको कथा त्यसैको ज्वलन्त उदाहरण हो ।
कुनै समय सीमित सेवामा रहेका उनी आज किसानको पहिलो रोजाइ बनेका छन् । गाउँमै बसेर सम्मानजनक आम्दानी, समाजमा पहिचान र किसानको विश्वास जितेका बासुदेबको सफलताले एउटा स्पष्ट सन्देश दिएको छ, अवसर सही ढंगले उपयोग गर्न सके गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ ।


