ghar sansar

भूगोलभन्दा माथि मानवीय नाताः ’मेरो कोही छैन’ बाट ’हामी सबै एक हौं’ सम्मको यात्रा

khasi

सुरज कुमार पन्त

केही दिनअघि मात्रै रसुवा र धादिङतिर बाढीपहिरोले ठूलो वितण्डा मच्चायो । प्रकृतिले आफ्नो भयानक रूप देखाउँदा कतिले ज्यान गुमाए, कति बेपत्ता भए त कति घरबारविहीन बने । टेलिभिजनका पर्दा र सामाजिक सञ्जालका भित्ताहरू तिनै कारुणिक दृश्यहरूले भरिएका थिए ।

यस्तैमा, हिजो एकजना चिनजानका मानिसले मलाई निकै सद्भावका साथ सोध्नुभयो, “अस्ति रसुवा–धादिङतिर बाढीले ठूलो प्रकोप ल्याएछ । तपाईंका आफन्तहरू त्यता कोही हुनु हुन्थ्यो कि ? सबै ठीकठाक छन् नि ?“

मैले बिना कुनै सोचविचार, निकै सहज र व्यावहारिक रूपमा जवाफ फर्काएँ, “अहँ, मेरो त्यतातिर कोही छैन ।“

उहाँसँगको कुराकानी त सकियो, तर मेरो जवाफले मेरो मनभित्र एउटा यस्तो आँधीहुरी ल्याइदियो, जसले मलाई रातभर निदाउन दिएन । मलाई आफ्नै जवाफप्रति एउटा गहिरो ग्लानिबोध हुन थाल्यो । मैले कति सजिलै भनिदिएँ –“मेरो त्यता कोही छैन !“

के वास्तवमै त्यता मेरो कोही थिएन ? हामी सबै एउटै होइनौँ  र ?

त्यो संवाद सकिएपछि मेरो चेतना ब्युँझियो र मनमा प्रश्नहरूको ओइरो लाग्यो । हामी सबै नेपाली एउटै आमाका सन्तान होइनौँ र ? सिङ्गो ब्रह्माण्डलाई नै एउटा परिवार मान्ने हाम्रो पूर्वीय दर्शन “वसुधैव कुटुम्बकम्“ को मर्म कहाँ गयो ? धार्मिक र आध्यात्मिक मान्यता अनुसार हामी सबै आखिर तिनै मनुका सन्तान अर्थात् मानव त हौँ नि । यदि हामी सबै मानव हौँ भने, त्यो नाताले के हामी सबै दाजुभाइ, दिदीबहिनी होइनौँ र ?

विपद्को यस्तो घडीमा म कसरी यति आत्मवादी, यति आत्मकेन्द्रित र निर्धक्क भएर बस्न सकेँ ? जब छिमेकीको घर जलिरहेको हुन्छ, तब मेरो घर सुरक्षित छ भन्दैमा म कसरी उत्सव मनाउन सक्छु ? हाम्रा पूर्खाहरूले सिकाएका ती सहानुभूति र समवेदनाका भावहरू, ती उच्च मानवीय मूल्य र मान्यताहरू आज कुन आधुनिकताको ओढारमा लोप भए ? यी प्रश्नहरूले मलाई भित्रभित्रै पोलिरहेको छ ।

dirghayi clinic

आधुनिक समाज र आत्मकेन्द्रित प्रवृत्तिको ऐना

आजको आधुनिक र व्यस्त जीवनले हामीलाई कता लैजाँदैछ भन्ने कुराको प्रमाण मेरो त्यही एउटा वाक्य “मेरो त्यता कोही छैन“ भन्ने जवाफ हो । हामी अचेल “म, मेरो परिवार र मेरो सीमित घेरा“ भन्दा बाहिर सोच्नै नसक्ने गरी साँघुरिँदै गएका छौँ । कसैको दुःखमा दुख्ने र कसैको आँसुमा रुने त्यो साँचो सहानुभूति (भ्mउबतजथ) आज सामाजिक सञ्जालको ’लाइक’ र ’स्याड रियाक्ट’ मा मात्र सीमित हुन पुगेको छ ।

बाढीले बगाएका ती घरहरू, पुरिएका ती सपनाहरू र रोइरहेका ती आँखाहरू केवल रसुवा वा धादिङका मात्र होइनन्। ती त हाम्रा आफ्नै दाजुभाइ र दिदीबहिनीका हुन् । देशको एउटा अङ्ग दुख्दा सिंगो शरीर नै अशक्त बन्नुपर्ने हो। तर, हामी भूगोल र रगतको नाता खोज्दै मानवीय नातालाई बिर्सँदै गइरहेका छौँ ।

ग्लानिबोधबाट ब्युँझिएको चेतना

मलाई महसुस भइरहेको यो ग्लानिबोध वास्तवमा मेरो मनको कमजोरी होइन, बरु मभित्रको मानवीयता अझै जीवितै छ भन्ने प्रमाण हो । अचानकको त्यो प्रतिक्रिया एउटा मेकानिकल जवाफ थियो होला, तर त्यसपछिको यो आत्म–चिन्तन मेरो आत्माको वास्तविक आवाज हो ।

यो पश्चातापले मलाई एउटा नयाँ दृष्टि दिएको छ। अबदेखि देशको कुनै पनि कुनामा विपत्ति आउँदा म कहिल्यै “मेरो कोही छैन“ भन्ने छैन । किनभने, त्यता पीडामा परेका प्रत्येक नागरिक मेरै देशवासी हुन्, मेरै दाजुभाइ र दिदीबहिनी हुन् ।

निष्कर्ष

प्रकृतिले ल्याउने विपत्तिलाई हामी रोक्न सक्दैनौँ होला, तर विपत्तिको समयमा एकअर्काको हात समातेर ढाडस दिन त पक्कै सक्छौँ । आउनुहोस्, भूगोल र रगतको साँघुरो घेराभन्दा माथि उठौँ । मानवीय मूल्य र मान्यताहरूलाई पुनः ब्युँझाऔँ । रसुवा, धादिङ वा देशको जुनसुकै कुनामा परेको विपद्लाई आफ्नै घरको विपद् सम्झिएर सहानुभूति, समवेदना र सहयोगको हात बढाऔँ। किनभने, अन्ततः हामी सबै एउटै हौँ र हाम्रो मानवता नै हाम्रो सबैभन्दा ठूलो नाता हो ।

लेखब बैतडी दशरथ चन्द नगरपालिका ११ का वासिन्दा हुन् ।

Himal dental
सम्बन्धित
Loading...