

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका हात्तीले भीमदत्त नगरपालिका–१४ का विभिन्न टोल बस्तीमा क्षति पुगाएपछि कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले स्थलगत निरीक्षण गरेका छन् ।
साँसद महताले प्रमुख जिल्ला अधिकारी मदन कोइराला र कञ्चनपुर प्रहरी प्रमुख एसपी नेत्रराज गिरी सहित ती बस्तीमा निरीक्षण गरेका छन् ।
साँसद महताको निजी सचिवालयका प्रमुख डिल्लीराज पन्तका अनुसार साँसद महता सहित प्रमुख जिल्ला अधिकारी कोइराला, एसपी गिरी, नेपाली सेना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी सहितको टोलीले क्षतिग्रस्त स्थामा पुगेर निरीक्षण गरेका छन् ।

साँसद महताले पीडित परिवारसँग भेटघाट गरी हात्तीको आक्रमणबाट भएको क्षतिको जानकारी लिएका छन् । पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा आगामी दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक पहल र समन्वय गर्ने साँसद महताले बताए ।

भीमदत्त नगरपालिका १४ का वडा अध्यक्ष भोजराज जोशीले साँसद महतासित हात्ती नियन्त्रणका लागि जसरी पनि व्यवस्था गरि दिन आग्रह गरेका थिए ।
बुधबार राति जङ्गली हात्तीको बथानले हरिनादेवी कामी, आरती रैकाल कामी र जानकी देवी कामी लगायत स्थानीयका घर तथा खाद्यान्नमा क्षति गरेका थियो ।

यसैक्रममा बस्ती क्षेत्रमा बढी आवतजावत गर्ने हात्तीको पहिचान, गतिविधि र आवागमनको निगरानी गर्न रेडियो कलर जडान गर्ने विषयलाई समेत अघि बढाउनुपर्ने प्रस्ताव गरिएको छ ।
रेडियो कलरमार्फत हात्तीको स्थान र गतिविधिबारे समयमै जानकारी प्राप्त गर्न सके सम्भावित जोखिमबारे स्थानीयलाई पूर्वसूचना दिन तथा मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वनमन्त्री गीता चौधरीले केही दिन अघि हात्तीमा रेडियो कलर जडान प्रक्रिया सुरु भएको बताएकी थिइन् ।
