

महेन्द्रनगर । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकारहरू रिहा भएको जानकारी दिएका हुन् ।
’पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,’ उनले लेखेका छन् ।
यसअघि प्रधानमन्त्रीको सचिवालयले यो घटनामा प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी नदिइएको बताएको थियो ।
’पत्रकार पक्राउ परेको सम्बन्धमा प्रधानमन्त्रीज्यूको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालय संलग्न छैन । यसबारे कुनै पनि जानकारी हामीलाई प्राप्त भएको थिएन । यो घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसक्नुभएको छ,’ प्रेसविज्ञ दिपा दाहालले सेतोपाटीसँग भनिन् ।

नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल पक्राउ परेका थिए ।
त्यस्तै प्रहरीले नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पनि पक्राउ गर्न प्रहरी पुगेको थियो। प्रहरी टोली साढे दुई घन्टा नयाँ पत्रिकाको कार्यालयमा बसेपछि निस्किएका थिए ।
उनीहरूले भोलि बिहान १० बजे मैनालीलाई साइबर ब्युरोमा उपस्थित हुने गरी सम्पादक खगेन्द्र पन्तलाई मौखिक उर्दी दिएर निस्किएका थिए ।
साभार : सेतोपाटी
