

ईश्वरी प्रसाद खरेल
नेपालको राजनीतिक इतिहासमा आफ्नो जीवन समाज परिवर्तन, शिक्षा विस्तार र जनचेतना अभिवृद्धिका लागि समर्पण गर्ने सङ्घर्षशील व्यक्तित्वहरूमध्ये एक हुनुहुन्छःः–भीमदत्त नगरपालिका ५ का क. लक्ष्मीदत्त जोशी ।
२०२७ साल साउन २७ गते मङ्गलबार राति तीन जना क्रान्तिकारी योद्धाले कञ्चनपुरको जेल तोडे। साउनको अँध्यारो रात, छिनछिनमा परिरहेको पानी र जङ्गलैजङ्गलको कठिन बाटो पार गर्दै उनीहरू महाकाली नदीको किनारमा पुगे।
अगाडि उर्लिरहेको महाकालीको भेल थियो । जीवन र मृत्युको दोसाँधमा उभिएर उनीहरूले सङ्कल्प गरे –“बाँचियो भने महाकालीपारि भेट हुनेछ, मरियो भने लाल सलाम !” यति भन्दै तीनै जना नदीमा हाम फाले ।
ती साहसी योद्धामध्ये एक हुनुहुन्थ्यो क. लक्ष्मीदत्त जोशी ।
महाकाली पार गरेपछि उहाँले भारतका हल्द्वानी, बहराइच लगायत स्थानमा रहेर वामपन्थी राजनीतिक गतिविधिलाई निरन्तरता दिनु भयो । त्यस अवधिमा क. पुष्पलाल, क. मनमोहन अधिकारी, क. मोहनचन्द्र अधिकारीलगायतका नेताहरूसँग उहाँको भेटघाट भएको थियो ।
उपलब्ध विवरणअनुसार, २०२६ सालतिर क. लक्ष्मीदत्त जोशी, क. अरुण पौडेल ‘यदुनाथ’ र क. रामबहादुर थापाले दोधाराको कञ्जभोज, आम्भोज तथा चाँदनीको हल्दुघाट क्षेत्रमा विद्यालय स्थापना गर्ने अभियानमा योगदान दिनु भयो । बाबाथानमा उहाँकै नाममा लक्ष्मी प्राथमिक विद्यालय स्थापना गरियो, जुन पछि उच्च माध्यमिक तहसम्म विकसित भएको विवरण छ ।
विद्यालय स्थापना गर्दै जनतामा शिक्षा र पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक चेतना फैलाएको आरोपमा उहाँहरूलाई पक्राउ गरी राजद्रोहको मुद्दा लगाएर जेल चलान गरिएको थियो ।

२०३६ सालमा राजनीतिक वातावरण केही खुला भएपछि उहाँ नेपाल फर्किनु भयो र डडेल्धुराको भित्री मधेश क्षेत्रमा केही समय भूमिगत रहेर राजनीतिक काम गर्नु भयो । घरायसी समस्या र पार्टीसँगको सम्पर्क विच्छेदका कारण २०४५ सालमा शिक्षण पेसा अँगाल्नु भयो । उहाँले डडेल्धुराको अजमेरुस्थित सहस्रलिङ्ग उच्च माध्यमिक विद्यालयमा शिक्षकका रूपमा काम गर्नु भयो ।
उहाँका सहयोद्धा क. अरुण पौडेल ‘यदुनाथ’ झापा मा हालै मृत्यु भएको छ भने क. रामबहादुर थापाको हालको अवस्थाबारे जानकारी उपलब्ध छैन ।
लामो राजनीतिक सङ्घर्ष र जीवनका अनेकौँ कठिनाइ पार गर्नुभएका क. लक्ष्मीदत्त जोशी आज भीमदत्त नगरपालिका–५ मा सामान्य जीवन बिताइरहनुभएको छ। उहाँको व्यक्तित्वमा सादगी, वैचारिक प्रतिबद्धता र समाजप्रतिको जिम्मेवारी झल्किन्छ ।
उपलब्ध विवरणअनुसार, उहाँ हाल नेकपा एमालेमा आबद्ध रहेर राजनीतिक जीवन बिताइरहनुभएको छ । पद, प्रतिष्ठा र देखावटीपनभन्दा सरल जीवन र उच्च विचारलाई महत्त्व दिने उहाँको जीवनयात्रा सम्मानयोग्य छ ।
क. लक्ष्मीदत्त जोशीको जीवन केवल व्यक्तिगत सङ्घर्षको कथा होइन; यो सुदूरपश्चिमको राजनीतिक इतिहास, शिक्षा विस्तार र सामाजिक चेतनासँग जोडिएको एउटा महत्त्वपूर्ण अध्याय हो । महाकालीको उर्लँदो भेलमा जीवनको बाजी लगाउने साहसदेखि समाजमा शिक्षा र चेतना फैलाउने प्रयाससम्म उहाँको योगदान स्मरणीय छ ।
मानिसको महानता पद र प्रतिष्ठाले होइन, विचार, त्याग, कर्म र समाजप्रतिको योगदानले मापन हुन्छ । सामान्य जीवन बिताउँदै उच्च विचारलाई आत्मसात् गरिरहनुभएका क. लक्ष्मीदत्त जोशी यसै मान्यताका प्रतिनिधि व्यक्तित्व हुनु हुन्छ ।
उहाँको सङ्घर्षपूर्ण इतिहास सुरक्षित रहोस्, योगदानको उचित मूल्याङ्कन होस् र उहाँको जीवनयात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहोस् ।
क. लक्ष्मीदत्त जोशीः–सङ्घर्षमा साहसी, विचारमा दृढ, जीवनमा सरल र उच्च आदर्शका धनी व्यक्तित्वप्रति हार्दिक सम्मान तथा क्रान्तिकारी अभिवादन!
