


निशा चन्द
गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा विशेष रूपमा मनाइने महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । यो पर्व भाद्र महिनामा पर्छ र गौरा देवी अर्थात् पार्वतीको पूजा गरी मनाइन्छ । धार्मिक किंवदन्ती अनुसार देवी पार्वतीले कठोर व्रत बसेर भगवान् शिवलाई पतिको रूपमा प्राप्त गरेकी थिइन् । उहाँको सम्झनामा परापूर्व कालदेखि नै गौरा पर्व मनाउने चलन रहँदै आएको छ । गौरा पर्व सामान्यतया भाद्र शुक्ल वा कृष्ण पक्षको पञ्चमी तिथिबाट सुरु भई ७ देखि ८ दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।
यसका मुख्य चरणहरू निम्न छन् : ·
विरुडा पञ्चमी: यो ५ गौरा पर्वको पहिलो दिन हो । यस दिन महिलाहरूले तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्नहरू – गहुँ, केराउ, गहत, मास र गुराँस भिजाउँछन् । यी भिजाइएका अन्नहरूलाई “विरुडा” भनिन्छ । जसलाई शिव-पार्वतीको पवित्र प्रसाद मानिन्छ ।
षष्ठी : दोस्रो दिन, विवाहित महिलाहरू सामूहिक रूपमा नजिकैको जलाशय, कुवा वा पँधेरामा गएर सोही भिजाइएको विरुडालाई धुने गर्छन् । धागोमा विरुडाको पोको बाँधेर विरुडा धुनका लागि बाजागाजाका साथ जाने गरिन्छ । विरुडा धुने क्रममा गाइने भाका: पञ्चमीका दिन इजु भिजाया विरुडा भिजाया । षष्ठीका दिन इजु धुन लाग्या । अष्टमीका दिन इजु बिरुडी रोट्या ।
सप्तमी : यस दिन खेतबाट धान, साउँ, दुबो, तिल र अम्रिसो आदि मिलाएर पाँच वा सात प्रकारका वनस्पतिहरू सङ्कलन गरिन्छ । ती वनस्पतिहरूलाई मिसाएर गौरा देवीको सुन्दर प्रतिमा बनाइन्छ । यस प्रतिमालाई फलफूल र फूलहरूले सजाएर परम्परागत “गाउँ” आउने “गौरा घर” वा गाउँको मन्दिरमा भित्र्याइन्छ । ·
अष्टमी : यो पर्वको सबैभन्दा महत्त्वपूर्ण दिन हो । महिलाहरू दिनभरि निराहार व्रत बस्छन् र वैदिक मन्त्र एवम् परम्परा अनुसार शिव-गौराको पूजा गर्छन् । यस दिन महिलाहरूले चोखो धागोबाट बनेको “दुबो-धागो” धारण गर्छन् । पूजा सकिएपछि, प्रसाद स्वरूप “विरुडा” साटासाट गरेर रमाइलो रसम हुन्छ ।
गौरा पर्वको महत्त्व र उद्देश्य
गौरा पर्व सुदूरपश्चिम र कर्णालीका नागरिकका लागि केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक एकता र सद्भावको प्रतीक हो । यस पर्वमा मुख्यतया देउडा गीत, लोकनृत्य र ठाडी भाका गाइन्छ । लौकिक गीत लोकसाहित्यको संरक्षण गर्न मद्दत गर्छ ।गौरा पर्वको मुख्य उद्देश्य पौराणिक धार्मिक-आस्थाको पूजा-आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्नु हो । यस पर्वमार्फत हाम्रा मौलिक धर्म, संस्कृति, परम्परा र संस्कारलाई जीवन्त राख्नु पनि एक महत्त्वपूर्ण उद्देश्य हो ।
निष्कर्ष
गौरा पर्व हाम्रो धर्म, संस्कृतिको मौलिकताको पहिचान हो । यसले परिवारको सुख, समृद्धिको कामना गर्नुका साथै समाजमा आपसी प्रेम, सद्भाव र एकता बढाउँछ । त्यसैले गौरा पर्वलाई नयाँ पुस्तामा निरन्तरता दिई यसको मौलिकता र परम्पराको संरक्षण गर्नु हाम्रो दायित्व हो । आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्न सक्ने भएकाले गौरा पर्वजस्ता सांस्कृतिक सम्पदाको संरक्षणमा नयाँ पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको परियोजनाको निष्कर्ष रहेको थियो। गौरा पर्वले धार्मिक आस्था, पारिवारिक सुख समृद्धिको कामनासँगै समाजमा प्रेम, सद्भाव र एकताको सन्देश दिने भएकाले यसको मौलिकता जोगाउँदै आगामी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको Dream Point Academy का Principal मनोज कलौनीले बताएका थिए । साथै, आगामी दिनहरूमा DPA ले विद्यार्थीहरूको मौलिकता, सिर्जनशीलता र रचनात्मकतालाई प्रोत्साहन गर्दै निरन्तरता दिने प्रतिबद्धता समेत गरेका छन् ।
चन्द Dream Point Academy मा कक्षा ९ मा अध्ययनरत छिन् ।
