
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा यस पटक हरि तालिका तीज मनाउने कार्यक्रम रोकिएको छ । अघिल्लो कार्यकालका पाँच वर्षसम्मै मनाइएको तीज कार्यक्रम नयाँ जनप्रतिनिधि आएको पहिलो वर्षमै रोकिएको छ ।
अघिल्लो वर्ष भीमदत्त नगरपालिकाले महिला जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी गरी तीज कार्यक्रम बनाउने गरेको थियो । तीज कार्यक्रममा सहभागी महिला जनप्रतिनिधि र कर्मचारीले शुभकामना आदानप्रदान गरी दर खाने गर्दथे ।
भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले नगरपालिका कार्यालयलाई आर्थिक भार पर्ने भएकाले तीज कार्यक्रम नराखिएको बताइन् ।
‘भीमदत्तमा आर्थिक समस्या छ, तीज मनाउँदा थ पभार पर्ने भयो, आर्थिक लोड हुने भयो’ उनले भनिन्,‘त्यसैले अर्को वर्ष मनाउने भनेर यस वर्ष मनाएनौ ।’
भीमदत्तमा मेयर पदम बोगटी र उप मेयर जोशी निर्वाचित भएको तीन महिना पुगेको छ । उनीहरु तीन महिनामै तीज कार्यक्रम मनाउन नसक्ने अवस्थामा पुगेका छन् ।
उप मेयर जोशीले नगरपालिकाका महिला जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार लगायत सबै क्षेत्रलाई बोलाउँदा हुने खर्च नगरपालिका कार्यालयले व्यहोर्न नसक्ने अवस्था भएको बताइन् ।
‘तीज मनाउने कार्यक्रम नभएपछि खर्चको लेखाजोखा गरिएन, त्यै पनि त्यसमा पनि सबैलाई बोलाउँदा १०÷१५ हजार त लागि हाल्छ’ उनले भनिन्,‘यो खर्च तीजमा गर्नु भन्दा कुनै कर्मचारीलाई दिए हुन्छ, कार्यालयको समान किने पनि ठिक हुन्छ ।’
नगरपालिकाका महिला कर्मचारीहरुले भने आफूलाई तीज कार्यक्रम मनाउन आग्रह गरेको उनले बताइन् । नगरपालिकाको खर्च व्यहोर्न नसक्ने भएपछि कार्यक्रम मनाउने तयारी नगरिएको उनको भनाई छ ।
भीमदत्तका मेयर बोगटी र उप मेयर जोशी आफैं भने नगरपालिकाका वडा कार्यालय र अन्य स्थानीय तहले मनाएका तीज कार्यक्रममा भने सहभागी हुने गरेका छन् । मेयर बोगटी बेदकोट नगरपालिकाको तीज कार्यक्रममा सहभागी भएका छन् ।
उप मेयर जोशी भीमदत्त नगरपालिका वडा नं. ६, १६, ११ ले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी छन् । उनी आफैंले पनि वडाको तीज कार्यक्रममा सहभागी भएको बताएकी छन् ।
उप मेयर जोशीले खर्च नभएर तीज मनाउने बताए पनि जनप्रतिनिधिहरु भने महिला जनप्रतिनिधिको पोशाक खरिद विवादमा मुछिएपछि मेयर उप मेयर तीज मनाउन कार्यक्रमबाट पछि हटेको बताउँछन् ।
‘पोशाक खरिदमा त्यति ठूलो विवाद भएको छ, अहिले फेरि तीज मनाउँदा थप विवादमा पर्ने डरमा देखियो’ एक महिला जनप्रतिनिधिले भनिन्,‘त्यसबाट जोगिन पनि तीज मनाउने तयारी गरिएन ।’
मेयरको निर्देशनमा उप मेयर जोशीले अर्डर गरी महिला जनप्रतिनिधिका लागि साडी, ब्लाउज, पेटीकोट र कोट किनेपछि उनीहरु विवादमा मुछिएका छन् । चौतर्फी विवाद भएपछि उनीहरुले जनप्रतिनिधिको पोशाक खर्च व्यक्तिगत रुपमा व्यहोर्ने घोषणा गरी सकेका छन् । व्यक्तिगत रुपमा पोशाक खर्च तिर्ने वाचा गरेपछि उनीहरु विवादबाट जोगिएका छन् ।
मेयर उप मेयरले आफ्नो सार्वजनिक घोषणा अनुसार पोशाकको खर्चको रकम दिने मिति बाहिर आएको छैन । जनप्रतिनिधिको पोशाक खरिदको काँग्रेसका नेता कार्यकर्ताले समेत आलोचना गरेका थिए ।
महिला जनप्रतिनिधिको पोशाक खरिद बाहेक मेयर बोगटीले आफ्नो निजी सवारी चालक वसन्त विष्टलाई तीन महिनाभित्रै नगरपालिकाबाट तलब खुवाएका छन् ।
गत जेठ ९ गते पदभार सम्हाल्दैं सरकारी गाडी नचढ्ने घोषणा गरी उनले तत्कालिन मेयर सुरेन्द्र विष्टले चढ्ने गाडी उप मेयर जोशीलाई दिएका थिए । अहिले भने मेयर बोगटीले पदभार सम्हालेको दोस्रो दिन जेठ ९ गतेदेखि विष्टलाई नियुक्ति गरी असार २४ गतेसम्म तलब खुवाएको बाहिर आएको छ ।
तीन महिनामा विष्ट बाहेक अन्य तीन कर्मचारीलाई पनि नियुक्ति गरी कार्यालयबाट तलब खुवाइएको छ । निजी सवारी चालकलाई कार्यालयबाट तलब खुवाएपछि मेयर बोगटी थप विवादित भएका छन् । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले कार्यालयको काम गर्दा विष्टलाई तलब खुवाएको बताएका थिए ।
नगर प्रवक्ता खड्काले पनि नगरपालिका कार्यालयमा तीज मनाउने कार्यक्रमबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई नगरपालिका कार्यालयमा तीज मनाउने कार्यक्रम सम्बन्धी केही थाहा भएन’ उनले भने,‘मैले मेरो वडा कार्यालयमा तीज मनाइ सकेको छु, त्यहाँ के भएको रहेछ थाहा छैन ।’
भीमदत्तमा उप मेयर सहित ३९ जना महिला जनप्रतिनिधि छन् । उनीहरुमध्ये तीन जना बाहेक सबै काँग्रेसबाट निर्वाचित भएका छन् ।
